शुभ नारायण यादव सप्तरी, २७ कार्तिक । नजिकिदै गरेको दिपावली तथा छठ पर्वका कारणले बालबालिकाहरु प्राय पटाका तथा अन्य विष्फोटक पदार्थहरु पडकाउने गरेको छ । तर पटाकाकै कारणले सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.–३ तरहीस्थित मुखिया टोलमा भएको आगलागीमा झण्डै १५ लाखको क्षति भएको छ । डाक्नेश्वरी नगरपालिका वडा न. ३ तरहीका बतही देवी मुखियाको घरबाट अचानक सुरु भएको आगो छिमेकी राजकुमार मुखिया, रामरुप मुखिया, नरेश मुखिया, राज मुखिया र मुकेश कुमार मुखियाको घर र घरमा रहेको सम्पुर्ण सरसामान जलेको सो मुल्य वरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय पातोले जनाएको छ । यता आगलागीले राजकुमारको मात्रै ६ लाख ५० हजार रुपैयाँको धनमाल जलेको छ । यसैगरी, बतहीको ४७ हजार रुपैयाँ, रामरुपको १ लाख ५० हजार रुपैयाँ, नरेशको ३ लाख ५० हजार, राजको २ लाख रुपैयाँ र मुकेशको २ लाख ७० हजार रुपैयाँको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ । यता आगलागी स्थानीयवासिन्दा, प्रहरी र वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको सप्तरी प्रहरीले जनाएको छ ।