शुभ नारायण यादव,
राजविराज, १७ असार ।
सप्तरी जिल्लाका दुर्गम क्षेत्र कोशी टापुभित्रका गोबरगाढामा दशकौं पश्चात विद्युत जडान भएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिकाको वडानं. १३ अन्तर्गत कोशी विच रहेको गोबरगाढा टापुमा बसोवास गर्नेहरु विद्युतका लागी दशकौं देखि प्रयासरत रही हाल विद्युत प्राधिकरण शाखा सप्तरीका प्रमुख अमोद कुमार यादवको पहलमा सो विद्युत जडान भएको हो ।
शाखा प्रमुख यादवले भने टापुमा राष्ट्रिय प्रसारण प्रणाली अन्तर्गतको विद्युत सेवा जडान भएको छ । २ करोड ५० लाख रुपैयाँ लागतमा विद्युतीकरण विस्तार गरी दुर्गम गाउँमा विद्युत सेवा संचालन गरिएको केन्द्रका प्रमुख यादवले बताए । उनका अनुसार ८०÷८५ घरधुरीमा विद्युत सेवा पुर्याइएको वताए ।
हनुमाननगर कंकालनी नगरपालिकादेखि ६ किलोमिटर ११ केभी वितरण लाइन निर्माण गरी विद्युत सेवा विस्तार गरिएको छ । गाउँमा ५० केभीएको ट्रान्सफर्मर राखेर विद्युत सेवा प्रवाह गरिएको छ ।
गाउँमा विद्युतीकरण गर्न ११ केभी हाइ टेन्सन लाइनको १ सय १८ वटा पोल जडान गरिएको छ । लो टेन्सन लाइनको ५० वटा पोल राखिएको छ ।
संरचना निर्माणको काम थालेको २ वर्षमा गाउँमा विद्युत पहुँच पुर्याउन सफल भएको वितरण केन्द्रले जनाएको छ । राष्ट्रिय प्रसारण प्रणाली विस्तार भई गाउँमा उज्यालो पुगेपछि स्थानीय हर्सित बनेका छन् । गाउँमा विद्युत पुगेपछि बत्ती बाल्न, मोबाईल चार्ज गर्न, विद्युतीय उपकरण चलाउन र कुटानी पिसानी गर्ने मिल सञ्चालन गर्न सहज भएको स्थानीय बताउँछन् ।
श्रीलंका टापुमा विद्युत पुगेपछि सप्तरी जिल्लामा पूर्ण विद्युतीकरण भएको पनि यादवले वताए । वितरण केन्द्रअन्र्तगत विद्युत प्राधिकरणको विद्युत सेवा लिने करिब ५५ हजार ग्राहक छन् ।
वितरण केन्द्रका अनुसार त्यस टापुमा विधुत संचालन भएपनि विधुतको मिटर जडान गर्नका लागि स्थानीय वासिसंग नम्बरी जग्गा नभएको हुँदा धरौटी राखेर मिटर जडान गर्नुपर्ने वाध्यता रहेको प्रमुख यादवले वताए ।
वर्षौ देखि अंध्यारोमा बस्दै आएका सो टापु क्षेत्रका बासिन्दाले पशुपालन, कृषि, कुटानी पिसानी, मोबाईल चार्ज लगायतका सुविधाहरु सहज रुपमा पाउने विश्वास व्यक्त गरेका छन् ।