शुभ नारायण यादव,
राजविराज, १५ असार ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का दुई सामुदायिक वनलाई अति संबेदनशिल क्षेत्र घोषणा गरेको छ । प्रदेश सरकारको स्विकृत कार्यक्रम अन्तर्गत स्वच्छ, समृद्ध तथा हरियाली प्रदेश बनाउने उद्देश्यले जिल्लाको विभिन्न स्थानममा रहेको सामुदायिक बनलाई निरिक्षण गर्ने क्रममा अग्निसाईर तथा बनदेवी सामुदायिक वनलाई अति संबेदनशिल क्षेत्रको रुपमा घोषणा गरेको हो ।
डिभिजन वन कार्यालय सप्तरीद्वारा चुरे क्षेत्र भू–क्षय तथा पुनरउत्पादनका लागि अति संबेदनशिल क्षेत्र (हर्ट स्पोर्ट) पहिचान गरि जैविक बिबिधता संरक्षण र वृक्षारोपन गर्न यी दुई सामुदायिक बनलाई छनौट गरेको छ । प्रदेश नम्बर २ सरकारको २०७७÷७८ को स्वीकृत बजेट अनुसार तार घेरा र वृक्षारोपनको काम गरिएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ ।
अनुगमनका क्रममा चुरे क्षेत्र भू–क्षय तथा पुनरउत्पादनको दृष्टिले अग्निसाईर र वनदेवी सामुदायिक वन क्षेत्र अति संबेदनशिल पहिचान गर्यौं, डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्षमण साफीले भने, जैविक बिबिधता संरक्षण र बृक्षारोपन गर्न आबश्यक ठानेर थालनी गरेका हौं । साफीले दुबै सामुदायिक वन क्षेत्रमा ३४ हेक्टर जग्गामा तार बार गरिएको तथा १४ हेक्टर जग्गामा वृक्षारोपनको कार्य सम्पन्न भएको जानकारी दिए । सो वन क्षेत्रमा बिभिन्न प्रजातिका गरि २२ हजार ४ सय बोटबिरुवा रोपिएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ ।
प्रदेश सरकारको स्वीकृत कार्यक्रम अन्तर्गत स्वच्छ, समृद्व तथा हरियाली प्रदेश अभियानलाई सार्थक बनाउने उद्देश्यको साथ वृक्षारोपन गरिएको रेन्जर साफीले जानकारी गराए ।