शुभ नारायण यादव
सप्तरी ,९ जेष्ठ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न. १० रन्जितपुरमा आज दिउँसो आगलागि हुदा पाँच वटा घर जलेर नष्ट हुदा लाखौंको क्षति भएको छ ।
स्थानिय भरत चौधरीको परालको टालबाट सुरु भएको आगोले निजको एउटा घर,छिमेकी बन्हु चौधरी , उमा कान्त चौधरी, शोभाकान्त चौधरी र लक्ष्मि कान्त चौधरीको एक/एक वटा घर आगलागीमा जलेर नष्ट भएको हाे ।
उक्त आगलागीमा बन्हु चौधरीको घरमा जम्मा गरी राखिएको करिब नगद रु ६ लाख समेत जलेर खरानी भएको पिडितले बताएका छन ।
यस्तै सो आगोमा १२५ सिसिको डिसकोभर मोटरसाइकल समेत जलेको र आफनो घरको सम्पुर्ण समाग्री जलेर खरानी भएको शोभा कान्त चौधरीको भनाई छ ।
अग्निपिडित उमा कान्त चौधरीका अनुसार आगलागीमा करिब घरभित्र रहेका ३/४ लाखको सुनचान्दी समेत जलेकाे पिडितका परिवारहरुले बताएका छन ।
सो आगलागीमा खाद्यान्न लताकपडा ,भडार्वतन नगदजिन्सी र घर भित्र रहेको काठ , जस्तापता , फनिचरका समान तथा गोदरेज जलेर खरानी हुदा करिब रु २० लाख मुल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।
यता आगोलाई स्थानियबासी ,प्रहरी तथा राजविराज र हनुमाननगर कंकालिनि नगरपालिकाका बारुण यन्त्रकाे अथक प्रयासमा आगलागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।