शुभ नारायण यादव सप्तरी,४ जेष्ठ ।
सप्तरी अदालतबाट जन्मकैदको सजाय पाई फरार रहेका अभियुक्तलाई २७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिका ४ का जोगेन्द्र मण्डलको हत्या गरेको ठहर गर्दै अदालतले सोही ठाउँका कारी सदालाई जन्मकैदको सजाय सुनाएको थियो ।
सदालाई आइतबार उहाँकै गाउँबाट पक्राउ गरेको जिल्लाका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनु भयो । २०५१ फागुन २० गते रामलीला कार्यक्रम हेर्न गएको बेला झगडा हुँदा सदाले आफ्नै गाउँका जोगेन्द्र मण्डलको हत्या गरेका थिए ।
जिल्ला अदालत सप्तरीले २०५४ साल माघ २२ गते हत्या गरेको पुष्टि गर्दे जन्मकैदको फैसला गरेको थियो । तत्कालीन पुनरावेदन र सर्वोच्च अदालतले पनि जिल्लाको फैसलालाई सदर गरेका थिए । सोमबार अदालतमा उपस्थित गराई सदालाई तत्कालै कैद भुक्तानका लागि कारागार चलान गरिएको डीएसपी काफ्लेले बताउनु भयो ।
पछिल्लो समय सप्तरी प्रहरीले फरार अपराधी पक्राउ गर्ने अभियान चलाएसँगै चालु आर्थिक वर्षको हालसम्म ९ सय ९ जनालाई पक्राउ गरेको छ ।