शुभ नारायण यादव सप्तरी ,२९ बैशाख ।
सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चारवटा भेन्टिलेटर जडान भए पनि चलाउने प्राविधिक नहुँदा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आएको छ ।
यो अस्पतालमा चारवटा भेन्टिलेटर जडान भए पनि चलाउने प्राविधिक कोरोना संक्रमित भएपछि चलाउन नसकिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झा बताउँछन् ।
भेन्टिलेटर जडान गरेर सञ्चालन गर्ने बेला यो चलाउने तीन जना कर्मचारी एकै पटक संक्रमित भएको कारण समस्या भएको हो ।
उहाँका अनुसार भेन्टिलेटर चलाउने एनेस्थियोलोजिष्ट मेडिकल अधिकृत, अहेब र स्टाफ नर्स संक्रमित भएका छन् । अस्पतालको आईसीयू र आकस्मिक कक्षमा काम गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मी पनि कोरोनाबाट संक्रमित भएको डा. झाले बताउनु भयो । उहाँका अनुसार चिकित्सकसहित अस्पतालका १२ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
एकै पटक १२ जना स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको डा. झाको भनाइ छ । उहाँका अनुसार ‘भेन्टिलेटरको जनशक्तिका लागि प्रदेश सरकार, संघीय सरकार र विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयसम्म पहलका लागी आग्रह समेत गरेको बताउनु भयो ।
भेन्टिलेटर नहुँदा सप्तरीका कोरोना संक्रमितलाई धरान, विराटनगर कुद्नुपरेको छ । तर, उता पनि भेन्टिलेटर नपाउँदा ज्यानै गुमाउनु परिरहेको छ’ डा. झाले भन्नु भयो ।
राजविराजका ३८ बर्षीय पुरुषलाई अक्सिजनकै सपोर्टमा एम्बुलेन्समा राखी विराटनगर लगिरहेका बेला बाटोमै अक्सिजन सकिएको थियो । बिरामीका आफन्तले विराटनगरसम्म पु¥याउन अस्पतालसँग अक्सिजनको सिलिण्डर माग गरेको थियो । तर, अस्पतालले दिन नसक्दा उहाँको बाटोमा नै मृत्यु भएको आफन्त बताउँछन् ।
यो अस्पतालमा अहिलेसम्म अक्सिजनको ९७ वटा सिलिण्डर मात्रै छ । यो सिलिण्डरले कोरोना संक्रमितलाई सेवा दिन हम्मे–हम्मे परेको डा. झाले बताउनु भयो । अस्पतालमा हालै २५ वटा एचडियु बेड निर्माण भएको छ । यो सबै बेडमा कोरोना संक्रमित बिरामी छन् । ‘यहाँ भर्ना भएका सबै अक्सिजनको सपोर्टमै छन’ डा. झाले भन्नु भयो , ‘प्रत्येक मिनेटमा १० लिटरसम्म अक्सिजन खपत भइरहेको छ ।’
अस्पतालमा सिलिन्डर संख्या कम भएकाले बिरामीलाई पु¥याउन कठिन भएको डा. झा बताउँछन् । अहिले अस्पतालले सिलिन्डर खाली हुने बित्तिकै भर्नका लागि इटहरीस्थित उद्योगसम्म पठाउने गरेको छ । उहाँले खाली हुनेबित्तिकै इटहरी गएर सिलिण्डर भरेर ल्याउने गरेको उहाँले बताउनु भयो । अस्पतालमा सरकारले अक्सिजन प्लान्ट राख्न टेण्डर आह्वान गरेपनि सामग्री नपाउँदा काम अगाडि बढ्न नसकेको सूचना आफूले पाएको डा. झाले बताउनु भयो ।