भूपदेव माली,
राजविराज १६ बैशाख ।
सप्तरीका विभिन्न नगरपालिकाहरुले सप्ताहिक कृषि हाटबाजार, शैलुन तथा अति आवश्यक कार्यहरु बाहेक सेवा बन्द गर्ने निर्णय गरिएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ कोरोनाको दोश्रो चरणको संक्रमण रोकथामका लागि सो निर्णय गरिएको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा मेयर शैलेश कुमार साहको अध्यक्षतामा एक बैठक द्वारा नगर क्षेत्रका सम्पूर्ण हाटबाजार, शैलुन बैशाख १९ गते देखि बन्द गर्ने निर्णय गरिएको हो । कोरोना संक्रमणबाट बच्न बचाउनका लागि १२ वटा विभिन्न निर्णय गरेको छ । जस मध्ये मुख्यतः सबैजसो वडाहरुमा मास्क र स्यानीटाईजर वितरण गर्ने, कोभिडको आंशका देखिएका व्यक्तिलाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, संक्रमितहरुलाई राख्न आइसोलेसन तयार गर्ने, हेल्फ डेक्स तयार गर्ने, नगर भरि कोरोनाबाट बच्न जनचेतना अभियान चलाउने निर्णयसँगै स्थानीय प्रशासनसँगको समन्वयमा मास्क नलगाउने व्यक्तिलाई ठाउँको ठाउँ कारबाही गर्ने लगायतको निर्णयहरु भएको नगर प्रमुख साहले बताउनु भयो ।
‘प्रशासनसँगको समन्वयमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन अन्तर्गत ठाउँको ठाउँ कारबाही गर्ने हामीले निर्णय गरेका छौं’ उहाँले भन्नु भयो –‘मास्कका साथै कोभिडबाट बच्न बचाउन नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको पालना गर्ने र गराउने कार्यमा हामी कुनै कसर बाँकी राख्ने छैनौं ।’ नगर प्रमुख साहले स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई आग्रह पनि गर्नु भयो ।
यसैगरी सप्तरीको सप्तकोशी नगरपालिकाले कोरोनाको संक्रमण रोकथामका लागि बैशाख २१ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू बन्द गरिने भएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर कोरोनाको नयाँ भेरियन्ट सङ्क्रमण बढ्दो क्रममा रहेको सन्दर्भ उल्लेख गदै पालीकाबाट दिने अति आवश्यक सेवा वाहेक सबै सेवा वन्द हुने सूचनामा उल्लेख गरेको छ ।
सूचनामा भनिएको छ नगरपालिको क्षेत्रमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको तथा थप जोखिमको अवस्था रही रहेकोले सम्पूर्ण नगरबासीहरूलाई आवश्यक स्वास्थ्य मापदण्ड अवलम्बन गर्न, भिडभाड हुने कार्य नगर्न, अनावश्यक रूपमा घरबाट ननिस्कन, अत्यावश्यक अवस्थामा घर बाहिर निस्कनु पर्दा अनिवार्य मास्ंकको प्रयोग गर्न अनुरोध गरेको छ ।
सङ्क्रमणलाई समुदायमा विस्तार हुनबाट नियन्त्रण गर्न आवश्यक देखिएकोले सम्पूर्ण हाट बजार तथा भीडभाड हुने कार्य सञ्चालनमा रोक लगाइएको जनाएको छ । नगरपालिकाको वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरू २०७८ बैशाख २१ गते मङ्गलबार सम्मका लागि बन्द गरिएको सूचनामा जनाएको छ ।