शुभ नारायण यादव,
राजविराज, ०३ चैत ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओलीसँग सक्ता साझेदार नहुने बताउनु भयो । उहाँले अब ओलीसँग देशलाई राजनीतिक नेतृत्व गर्ने हैसियत नरहेको जिकिर गर्नूृ भयो ।
प्रेस यूनियन सप्तरीले मंगलबार सदरमुकाम राजविराजमा गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकारमा जाने बताउनु भयो । ‘यसको लागी तयारी भइरहेको बताउनु भयो ।
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकबाट सरकार बनाउने विषयमा केही कुरा स्पष्ट भएर आउने भन्दै सिटौलाले ओलीसँग सक्ता साझेदार नहुने बताउनु भयो ।
‘कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपासहितको सहभागितामा बन्ने सरकारले देशलाई निकास दिन्छ,’ उहाँले बताउदै चैत महिनाभित्रै अर्को सरकारको निर्माण हुने बताउनु भयो ।’
प्रतिनिधि सभा विघटन गरेको निर्णय सर्वाेच्च अदालतले बदर गरेपछि नैतिकताको आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्नेमा ओली अहिले पनि कुर्सीमा बसिरहेको उहाँले बताउनु भयो । ‘प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा उहाँले राजीनामा दिनुहुन्छ भन्ने मनसाय पनि देखिदैन,’ पूर्व गृहमन्त्रीसमेत रहेका सिटौलाले भने, ‘अब माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिन बाध्यात्मक स्थिति आउँछ । यो भएन भने राजीनामा दिनुपर्छ ।’
ओलीले राजीनामा दिएपछि बहुमतको आधारमा कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने र यसका निम्ति छलफल चलिरहेको उहाँले बताउनु भयो । लोकतन्त्र र संवैधानिक व्यवस्था बचाउन आवश्यक परेमा सरकारको नेतृत्व लिन आफ्नो पार्टी सभापतिलाई भनिसकेको नेता सिटौलाले बताउनु भयो।
नेता सिटौलाले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने बताउनु भयो । ‘आगामी भदौ महिनामा निर्धारण भएको महाधिवेशन कुनै पनि बहानामा सार्नु भएन,’ उहाँले ‘यो पार्टीको बटमलाइन हो । योभन्दा पछाडि कसैलाई जानु हुँदैन ।’
महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने कि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा सिटौलाले तयारी भइरहेको र समय आएपछि सार्वजनिक गर्ने बताउनु भयो ।