शुभ नारायण यादव सप्तरी , १२ फाल्गुन।
सप्तरी जिल्ला भरीमा रातिको समयमा लाउडस्पिकर र डिजे साउण्ड सिस्टम बजाउन नपाउने निर्णय भएको छ । हालै जिल्ला समन्वय समितिमा सवै स्थानीय तहका प्रमुख र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा आयोजना गरिएको बैठकबाट सो निर्णय भएको हो । समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा आयोजित बैठकबाट लाउडस्पिकर र डिजे साउण्डले अत्यधिक ध्वनी प्रदुषण भइरहेका कारण प्रदुषण नियन्त्रण गर्ने निर्णय गरिएको छ । निर्णय अनुसार राति १० बजेदेखि विहान ५ बजेसम्म लाउड स्पिकर र डिजे बजाउन नपाउने भएको छ ।अन्य समयमा पनि नियन्त्रित रुपमा मात्रै लाउड स्पिकर र डिजे बजाउन पाउछ ।’ निर्णय नमान्नेलाई कानून बमोजिम कारवाही गर्ने गराउने समेत निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख यादवले सञ्चारकर्मीलाई जानकारी दिनु भयो । ‘निर्णय पालना नगरेको पाइए कानून अनुसार कारवाही गर्ने गराउने पनि निर्णय भएको छ,यद्यपी सांस्कृतिक रुपमा कुनै कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहको स्वीकृति लिउनुपर्ने र सोबारे स्थानिय प्रशासनलाई जानकारी गराउनुपर्ने बैठकबाट निर्णय भएको छ ।’ यसबाहेक बढ्दो दुर्घटना नियन्त्रण गर्न पनि महत्वपूर्ण निर्णय भएको प्रमुख यादवले बताए । ‘बाटो–घाटो र सडकमा थुपारिएका निर्माण सामग्री र सवारी साधनको पार्किङ्ग व्यवस्थित गर्न स्थानीय तहले आवश्यक पहल निर्णय भएको छ’ उहाँले –‘बढ्दो सवारी दुर्घटनालाई नियन्त्रण गर्न यो कदम चालिएको छ, यसले केही हदसम्म दुर्घटना न्यूनिकरण हुने विश्वास छ ।’