शुभ नारायण यादव,
राजविराज, १० फाल्गुन ।
सप्तरीको विभिन्न सिमावर्ति नाकाबाट अबैध लागू औषध ओसार पसार गर्ने युवाहरुको सङ्ख्यामा बृद्धि भएको छ । यसै क्रममा सप्तरीबाट सशस्त्र प्रहरीको टोलीले भारतबाट लागू औषध ल्याउँदै गरेका तीन जना युवकलाई पक्राउ गरेको छ ।
भारतबाट लागूऔषध बोकेर पैदल आउँदै गरेका उनीहरुलाई सप्तरीको तिलाठी कोइलाडी गाउँपलिका १ बेल्हीबाट आज दिउँसो पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा मोरङको पथरी निवासी २३ वर्षीय निर्मल परियार, २५ वर्षीय करण लिम्बु र सोही उमेरका करण तामङ छन् । उनीहरुको साथबाट फेनारगन इन्जेक्सन १० थान, डाइजेपाम इन्जेक्सन ११ थान र लिजेसिक इन्जेक्सन १० थान बरामद भएको उहाले बताउनुभयो ।
यता लागूऔषध सहित पक्राउ परेका युवाहरुलाई थप अनुसन्धानका लागि प्रहरी चौकी तिलाठीको जिम्मा लगाइएको सशस्त्र प्रहरी सिमा चेक आउट पोष्ट बीओपी तिलाठीले जनाएको छ ।