शुभ नारायण यादव सप्तरी ,२ फागुन ।
प्रदेश २ मा हालै गठित मिडिया काउन्सील तथा आमसंचार प्राधिकरणले प्रदेशका ८ वटै जिल्लामा संचार क्षेत्रका समस्या र समाधान बारे सुझाव संकलन सुरु गरेको छ ।
प्रदेश २ अन्तरगत पूर्वको जिल्ला सप्तरीबाट आइतबारदेखी सुझाव संकलनको थालनी भएको हो ।
नेपाल पत्रकार महासंघको सभाकक्षमा आयोजित कार्यक्रममा प्रदेश २ मिडिया काउन्सीलका अध्यक्ष शिवहरि भट्टराइले पत्रकारहरुले भोग्नु परिरहेको समस्या तथा तीनका समाधान बारे सुझाव लिई कार्यान्वयनको दिशामा सक्रियताका साथ लाग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
लामो समय पत्रकारिता गरि सेवा निवृत भएका अग्रज पत्रकारहरुलाई पेन्सन, पत्रिकाहरुको वर्गिकरण, पत्रकार आचारसहिंता लगायतका विषयमा देखिएका कमिकमजोरीमा सुधार तथा अन्य आवश्यक कार्यमा काउन्सील र प्राधिकरणले मिलेर काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गरेका थिए ।
आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले प्रदेश २ मा संचार क्षेत्रका समस्या गम्भिर रहेको भन्दै तीनको समाधानमा आफूहरु लागिपरेको र त्यसको सुरुवात भएको बताउनु भयो। विगतमा भएका मधेश आन्दोलनमा पनि यस क्षेत्रको पत्रकारको सकारात्मक सहयोग रहेको बताउँदै उहाँले मिडियालाई अझ सशक्त बनाउन सबैको निरन्तर सहयोग आवश्यक रहेको बताउनु भयो ।
प्रदेश २ मा सरकारले आफ्नै टेलिभिजन, रेडियो तथा पत्रपत्रिका संचालन गर्ने योजना रहेको बताउँदै उहाँले यसका लागि पनि आवश्यक सुझाव दिन आग्रह गरेका थिए ।
पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, प्रेस काउन्सीलका पूर्व सदस्य अनिलकुमार अनल, मुरली यादव, देवराम यादव, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, पूर्व सभापति धिरेन्द्र प्रसाद साह, सल्लाहकार श्रवण देव लगायतले पत्रकारिता क्षेत्रमा देखिएका समस्या र तीनका समाधान बारे आ–आफ्नो सुझाव दिएका थिए ।