शुभ नारायण यादव
सप्तरी ०४ कात्तिक ।
सप्तरीमा दशैंको अवसरमा विभिन्न मठ–मन्दिर एवं शक्तिपीठहरुमा भिडभाड नहोस सम्वन्धमा विशेष सुरक्षा योजना स्थानीय प्रहरी प्रशासनले लागू गरेको छ । नेपालीहरुको महान चाडपर्व बिजया दशमी, दिपावली तथा छठ पर्वलाई लक्षित गरि प्रहरीले विशेष सुरक्षा योजनासहित प्रहरी परिचालन गरिएको जनाएको छ ।
जिल्लाको शक्तिपीठहरुमा आवश्यक निर्देशनसहित प्रहरी परिचालन गरिएको उहाको भनाई छ । यस क्रममा विभिन्न क्षेत्रका नागरिकसँग छलफल गरि प्राप्त सुझावका आधारमा आगामी रणनीति र योजना तयार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसरी नै जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विगत एक महिनाको अवधीमा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका २ सय २ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो ।
पछिल्लो पटक एक साताअघि एकै दिन विभिन्न अपराधमा संलग्न भई फरार रहेका ३२ जनालाई प्रहरीले पक्राउ गरि अदालत समक्ष बुझाइसकेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो। उहाका अनुसार पक्राउ पर्नेहरुमा कुटपिट, लुटपाट, जालसाजी, लेनदेन, बलात्कार, सवारी ज्यान र ज्यान मुद्दा लगायतका रहेका छन ।
पछिल्लो समय फरार अपराधी पक्राउ गर्न प्रहरीले आक्रमक अभियान थालेपछि एकपछि अर्को सफलता मिल्दै गएको प्रहरी उपरिक्षक धमलाको भनाई छ । समाजमा भएको विद्यमान अपराध र बिकृती र बिसंगतिहरुलाई निरुत्साहित गर्न सुरु गरिएको अभियानमा सबै सचेत नागरिकले सहयोग गर्नु पर्ने उहाले बताउनुभयो ।