शुभ नारायण यादव,
राजविराज, २९ माघ ।
सामाजिक न्याय, मुक्ती र विभेदविरुद्ध सप्तरी सहित देशव्यापी रुपमा बृहत राष्ट्रिय दलित मुक्ती जागरण अभियान सुरु हुने भएको छ । सप्तरीको राजविराजमा विहिवार राष्ट्रिय दलित मुक्ती जागरण अभियान सप्तरीका संयोजक प्रथमलाल रामले पत्रकार सम्मेलन मार्फत सो अभियानबारे जानकारी गराइएको हो ।
फाल्गुन १ गते राजविराजस्थित राजरंगशाला मैदान र पश्चिमको दैलेख बजारबाट एकसाथ अभियान सुरु हुन गईरहेको अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले जानकारी दिनु भयो । ‘पटक पटक आन्दोलन भए, आन्दोलनमा दलितसहित उत्पिडित समुदायले बलिदानी दिइरहे । तर, दलित समुदायको सामाजिक, आर्थिक र राजनीतिक अवस्था भने अझै फेरिएको छैन’ पत्रकार सम्मेलनमा उहाँले ‘पछिल्लो पटक ओली नेतृत्वको सरकारकै कार्यकालमा पनि दलित समुदायले धेरै अन्याय र अत्याचार सहनु परेकै हो, रुकुम र तराई मधेशका विभिन्न ठाउँमा भएको हत्याकाण्ड, दलितमाथि हिंसा, बलात्कारका घटना आदी–आदी ।’
यस्ता घटनाहरुलाई मध्येनजर गर्दै न्याय, मुक्ती र विभेद विरुद्ध सडकमा उत्रिनुपर्ने बाध्यता आइलागेको उहाँले बताउनु भयो । ‘संयुक्त दलित संघर्षको राष्ट्रिय दलित मुक्ती जागरण अभियानले देशव्यापी रुपमा जागरण अभियान तथा विरोधका कार्यक्रम गर्नेछ, साथै ओली सरकारले पछिल्लो पटक चालेको प्रतिगामी कदम विरुद्धको आन्दोलन पनि हो ।’
राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपाल (सप्तरी) ले फाल्गुन १ गते राजविराजमा आयोजना गर्न लागेको अभियानमा २५ हजारभन्दा बढीलाई सहभागी गराउने रामले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा अभियानका अगुवाहरु गंगा सदा, बद्री सदा लगायतको उपस्थिती रहेको थियो ।