शुभ नारायण यादव,
राजविराज, २९ माघ ।
सप्तरी सहित तराईका विभिन्न विद्यालयहरुमा श्रीपंचमीका दिन मनाइने सरस्वती पूजाको तिथि नजिकिदै जाँदा मुर्तिकारहरुले भ्याई–नभ्याई मुर्ति आकारको अन्तिम रुप दिनमा ब्यस्त रहेका छन ।
सरस्वती पूजाको तिथि अब ५ दिन मात्र बाँकी रहेपनि कतिपय मुर्तिकार समक्ष थप मुर्ति बनाई दिन माँग भएपछि मुर्तिको संख्या बढाउन धौ–धौ परेको स्थिती भारदह बाजार स्थित मुर्ति बनाई रहेका मुर्तिकार गोविन्द पण्डितले बताए । यस्तै मुर्तिहरु बिक्री गरेर कतिपय मुर्तिकारले वर्षै भरीको जोहो समेत टार्ने गरेका छन ।
राजबिराज ७ का धुरण सरदार माझीले अहिले सम्म ४९ वटा मात्र मुर्ति बनाउन सकेका छन भने अर्डर दिनहु जसो आउने गरेको बताउँछन् । उमेरले ५० वर्ष नाघेका माझी बास, पराल, माटो र रंगको संयोजन गरेर मुर्ति तयार गरिने परम्परागत शैलीलाई नै अपनाएको देखिन्छ ।
मुर्तिको आकार र मिहिनेत हेरी २ हजार ५ सय देखी १५ हजार रुपैयाँ सम्मका सरस्वतीका मुर्ति बनाएका छन । सबै अर्डरको हो, उनले भने, तर अर्डर आए जति बनाउन सकिएको छैन ।
विष्णुपर गाँउपालिका ६ का अर्का मुर्तिकार श्याम मुखियाले भने, अर्डर धेरै आएको छ तर चिसोले गर्दा चाहे जति बनाउन सकिएको छैन ।
मुर्ति बनाउने कलाको प्रति अबको युवाहरुको आर्कषण घटदै गएकोले पनि समस्या भएको उहाँको भनाइ छ । प्रति ट्रयाक्टर एक हजारका दरले माटो खरिद गर्नु पर्ने र मुर्तिलाई सजाउन प्रयोग गरिने रंगरोगन र सिंगारका सामान पनि महंगिएकाले यस बर्ष मुर्तिको लागत मुल्य बढी पर्न गएको मुखियाको भनाई छ ।
बुद्धि ज्ञान र विद्याको रुपमा सारा विश्वमा आफ्नो कृपाले ज्ञानको प्रकाश फैलाउने सरस्वतीलाई श्री पञ्चमीका दिन विद्यार्थीहरुले श्रद्धापूर्वक पूजा –अर्चना गर्ने परम्परा रही आएको छ ।
यस पूजाको तयारीका लागि विद्यार्थी, अभिभावक र विद्यालयका संचालक सबै उत्साहका साथ जुटेका छन् । यस पल्ट सरस्वती पूजा आगामी मंगलबारका दिन हुने भएका छन् ।