शुभ नारायण यादव,
राजविराज, १७ माघ ।
पंचायतकालमा लामो समयसम्म विभिन्न पदमा रही समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका अमृतलाल चौधरीको निधन भएको छ ।
केही समययता प्रोस्टेट रोगले बिरामी परेका सप्तरीको राजविराज नगरपालिका वडा न. १ चनौरा पडरिया निवासी ९० वर्षीय चौधरीको शनिवार बिहान निधन भएको हो ।
उहाँका कान्छा छोरा हाल वडा अध्यक्ष रहेका चन्द्रशेखर चौधरीका अनुसार बिहान ४ बजेतिर चौधरीको आफ्नै निवासमा निधन भएको हो ।
उनी तत्कालिन गाउँ फर्क राष्ट्रिय अभियानका संयोजक, किसान संगठनका केन्द्रिय अध्यक्ष, जिल्ला पंचायतका सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष समेत रही सकेका हुन् ।
विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भई समाजसेवा समेत गर्दै आएका चौधरीका दुई छोरा र एक छोरी छन् । घरमा परम्परागत संस्कार सकेपछि उहाँको शनिबारै अन्त्येष्टी गरिएको छ ।
यसअघि उहाँको पार्थिव शरीर राप्रपाका जिल्ला सहअध्यक्ष बिनोद कुमार पाण्डेयले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेका थिए ।
शवयात्रा चनौरा पडरियास्थित फुलवारीमा पुगेपछि जेठा छोरा अरुणले पार्थिव शरीरमा दागवत्ति दिएका थिए ।
राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले उहाँको निधनले कुनै दल विशेष मात्र नभएर विकास र सामाजिक सद्भाव चाहने सबैलाई क्षति भएको जनाएका छन् ।