शुभ नारायण यादव सप्तरी,१५ माघ ।
अनावश्यक खर्च घटनाउने नीति अनुसार राजविराज नगरपालिकाले आज थप एक वडा कार्यालयको आफ्नै भवन निर्माण गरि संचालनमा ल्याएको छ । ४० लाखको लागतमा निर्माण गरिएको ५ कोठे सुविधा सम्पन्न राजविराज नगरपालिका ७ नं. वडा कार्यालयको नगरप्रमुख शम्भुप्रसाद यादवले उद्घाटन गरेका हुन् । सभा कक्षसहितको ५ कोठे भवनको वडा कार्यालय संचालनले सेवाग्राहीहरुलाई सहज र सरल ढंगले सेवा प्रदान हुने नगरप्रमुख यादवले विश्वास व्यक्त गर्नु भयो । सो अवसरमा उहाँले वडा कार्यालयहरु भाडामा लिएर संचालन गर्नुपर्दा वर्षेणी ठूलो रकम खर्च हुने भएकोले अनावश्यक खर्च घटाउदै सबै वडा कार्यालयहरुका लागि क्रमिक रुपमा आफ्नै भवन निर्माण गरिदै लगिने नीति बनाइएको बताउनु भयो । वडा अध्यक्ष माँगिलाल नाईको अध्यक्षतामा आयोजित समारोहमा उपप्रमुख साधना झा, प्रमुख प्रसाकीय अधिकृत मदन बहादुर थापा, वरिष्ठ पत्रकार शिवहरि भट्टराई, नागरिक समाजका अध्यक्ष थानसिंह भंसालीलगायतले पनि शुभकामना दिँदै नवनिर्मित कार्यालय भवनबाट वडावासीले सहज र सरल ढंगलबाट सेवाप्राप्त गर्ने विश्वास व्यक्त गर्नु भयो । १६ वटा वडा रहेको राजविराज नगरपालिकामा तीन वटा वडा कार्यालयको आफ्नै भवन निर्माण सम्पन्न भई संचालनमा आइसकेको छ भने चार वटाको निर्माण कार्य सम्पन्न भई छिट्टै संचालनमा आउने तयारी छ । यस्तै चार वटा वडा कार्यालयको नयाँ भवन निर्माणका लागि टेण्डरसमेत भइसकेको प्रमुख प्रसाकीय अधिकृत मदन बहादुर थापाले जानकारी दिएका छन् । बाँकी रहेका वडा कार्यालयहरुको पनि आफ्नै भवन निर्माण गर्ने योजना कार्यान्वयनतर्फ अघि बढिसकेको राजविराज नगरपािलकाले जनाएको छ ।