शुभनारायण यादव,
राजविराज ०९ माघ ।
जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले देश र जनताको चाहना विपरित असंबैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेर हिटलर शैली प्रदर्शन गरेको आरोप लगाएका छन् ।
सप्तरीको राजविराजमा शुक्रवार प्रेस मञ्च नेपाल तथा प्रेस नेपालको संयूक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै वहाँले यस्तो आरोप लगाएका हून् । स्वेच्छाचारी तथा तानाशाही कै कारण हिटलरको पतन भएको थियो अबभने हिटलर शैली कै मार्ग अपनाएर संविधान मिचेर लोकतन्त्रको हत्या गरिने प्र.म. ओलीको पनि पतन हुने निश्चित भएको भन्नु भयो ।
यतिबेला ओलीले विभिन्न प्रकारको कुतर्कहरु प्रयोग गर्दै भ्रामक प्रचार प्रसार गरी आफ्नो अस्तित्व जोगाउन यथासक्य प्रयासमा लागेको समेत उद्घृत गर्दै वहाँले ओलीको चरित्र जनता सामू छर्लङ्ग भईसकेकोले अव जनताले ओलीलाई फालेरै छाडने दावी गर्नु भयो ।
नश्लिय चिन्तनको आधारमा बनाइएका पहिलेका सात वटा संविधान असफल भएको उदाहरण दिँदै उहाँले संविधानसभाबाट निर्माण गरिएको वर्तमान संविधान पनि त्रृटीरहित नहुन सकेका कारण आफूहरु त्यसलाई सच्याउने अभियानमा लागेको स्पष्ट पार्नु भयो ।
उहाँले भन्नु भयो मुलुकलाई सबैको साझा बनाउनका लागि सर्व स्विकार्य संविधान बनाउने उद्देश्यका साथ हामी वैकल्पिक शक्ति निर्माणको अभियानमा जुटेका छौं ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विषय अहिले अदालतमा विचाराधिन रहेको भन्दै नेता महतोले अदालतले दिने निर्णयको प्रतिक्षामा आफूहरु रहेको बताउनु भयो । पहिले अदालतको निर्णय आओस, उहाँले भन्नु भयो त्यसपछि कसरी अघि बढ्ने कुराको भविष्यमा निर्णय हुनेछ ।
पत्रकार सम्मेलनमा जसपाका कार्यकारिणी सदस्य मृगेन्द्र कुमार सिंह यादव, प्रदेशसभा सदस्य मनिष सुमन लगायतका नेता सहभागी थिए ।