शुभ नारायण यादव
राजविराज, ०८ माघ ।
सता पक्षको विरुद्ध विपक्षी दलहरु सडक आन्दोलन तताई रहेको बेलामा सत्तापक्षीय संगठन राष्ट्रिय यूवा संघ नेपालले प्रधानमंत्रीको पक्षमा प्रदर्शन सहित सभा गरिएको छ ।
यूवा संघ नेपला द्वारा विहिवार सप्तरीको सदरमुकाम राजविराजमा मोटरसाईकल जुलुस प्रशिक्षण सहितको युवा भेला तथा सभा कडा सुरक्षा विच गरिएको छ ।
निकालिएको सो जुलुसमा केपी ओली जिन्दावाद, नेकपा जिन्दावाद लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।
¥याली पश्चात् स्थानिय राजरंगशालामा प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय इन्चार्ज महेश बस्नेतले विदेशीको उक्साहटमा आफ्नै पार्टीका केही नेताले षडयन्त्र गरी सरकार ढाल्ने योजना बनाएको र त्यसैलाई असफल बनाउन प्रतिनिधिसभा भंग गरिएको बताउँदै प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्नुभयो ।
उहाँले केपी ओलीको बिरोध गरेर मधेशको विकास सम्भव नभएको भन्दै मधेशकै विकासका लागि बढी चिन्तित रहने प्रधानमन्त्रीको बिरोध हुनुको पछाडी कुनै तुक नरहने प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्री मधेशको विकासका लागि चिन्तित हुनुहुन्छ, उहाँले थपे, यहाँका नेताहरुले पनि व्यक्तिगत स्वार्थको कुरा त्यागेर मधेशको सामूहिक विकासका लागि प्रयत्नशिल हुनु जरुरी छ । मधेशबाट प्रधानमन्त्री समक्ष जाने डेलिकेशनमा सामूहिक विकास भन्दा पनि व्यक्तिगत कामको कुरा बढी हुने गरेको भन्दै उहाँले यो तरिकाले मधेशको विकास नहुने जिकिर दोहराउनु भयो ।
मधेशका सबै नेताहरुप्रति आफूहरुको सम्मान रहेको भन्दै उहाँले आफूहरुले कार्यक्रम गर्दा पनि बाधा अवरोध बिना शान्तिपूर्वक कार्यक्रम गर्न पाउने अपेक्षा राखेको बताउनु भयो ।
यूवा संघ नेपाल सप्तरीका सन्योजक चितरन्जन यादवको अध्यक्षतामा आयोजित कार्यक्रमलाई यूवा संघका अध्यक्ष रमेश पौडेल, केन्द्रिय सदस्य देवानन्द महतो, संजिव झालगायतले पनि बोल्दै प्रधानमन्त्री ओलीको कदम संबैधानिक भएको दाबी गर्दै उहाँको कदमको बचाउ गरेका थिए ।
सुरुमा जिल्ला समन्वय समितिको सभाहलमा निर्धारित कार्यक्रम नेकपा प्रचण्ड माधव नेपाल समूहको बिरोधका कारण राजरंगशालामा सारिएको थियो । सो क्रममा प्रचण्ड नेपाल समूहका ९ जना स्थानिय नेता कार्यकर्तालाई प्रहरीले पक्राउ समेत गरेको छ ।
कार्यक्रम स्थल वरिपरि प्रहरीको कडा सुरक्षा व्यवस्था मिलाइएको थियो भने स्थानिय प्रशासनले ड्रोन क्यामरामार्फत कार्यक्रमको सुरक्षा निगरानी गरेको थियो । यसैबिच जसपाका नेता तथा कार्यकर्ताहरुले सप्तरीको रुपनी बजारमा कालो झण्डा समेत प्रदर्शन गरेका थिए ।