आर एन मेहता , सप्तरी ,२ माघ ।
अत्यधिक चिसाेका कारणले सप्तरी सहित तराई मधेशका जिल्लाहरुकाे जनजिवन कष्टकर बन्दै गएको छ । यसेैबिच सप्तरी लगायत मुलुकको विभिन्न भागमा केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी प्रभावित हुने गरिब असहाय तथा विपन्न परिवारलाई लक्षित गरि डिभिजन वन कार्यालय तथा तिलाठी कोइलाडी गाउँपालिकाले दाउरा बितरण सुरु गरेका हुन् । नगर क्षेत्रका साथै ग्रामिण क्षेत्रका चौक, सार्वजनिक स्थानमा आवागमन गर्ने बटुवा तथा विपन्न बस्तिमा बसोवास गर्ने मानिसहरुलाई लक्षित गरि दाउरा बितरण सुरु गरिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष कुमार झाले जानकारी दिनुभयाे । सामुदायिक वन उपभोक्ता समूह र समितिसँगको समन्वय तथा सहयोगमा मानिसहरुको आवागमन बढी हुने ठाउँको पहिचान गरि दाउरा बितरण र आगो ताप्ने व्यवस्था मिलाइएको उहाको भनाई छ । यस्तै तिलाठी कोइलाडी गाउँपालिकाले पनि वन कार्यालयको समन्वयमा दाउरा खरीद गरि चिसोले बढी प्रभावित बस्तिमा गएर दाउरा बालेर आगो ताप्ने ब्यवस्था मिलाउन लागेको जनाएको छ । केही दिन यता ह्वातै बढेको चिसोलाई ध्यानमा राख्दै जाडोका कारण कष्ठप्रद जिवनयापन गर्न बाध्य सर्वसाधारणलाई थोरै भएपनि न्यानो पार्ने उद्देश्यले दाउरा खरीद गरिसकेका छौं, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले भने, भोलीदेखी नै गाउँपालिकाका सबै ८ वटै वडाका आवश्यक देखिएका स्थानमा बितरण सुरु गरिने छ । आर्थिक अवस्था अत्यन्त दयनिय रहेकाहरुले खान लाउन समेत धौं धौ. परिरहेको अवस्थामा उनीहरु आफैले दाउरा बालेर आगो ताप्ने वयवस्था मिलाउन सक्ने स्थिति नरहेकाले गाउँपालिकाले दाउराको जोहो गरेर उनीहरुलाई न्यानो बाड्न खोजेका हौं, सिंहले भने । यता केही दिनयता सितलहरसँगै अत्याधिक जाडो भएपछि सप्तरीको सप्तकोशी नगरपालिकास्थित सबै विद्यालय एक साताका लागि बन्द गरिएको छ । नगरपालिकाको बोर्ड बैठकले माघ १ देखी माघ ७ गतेसम्म नगरपालिका क्षेत्रभित्र रहेका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । उक्त नगरपालिका भित्र ११ सरकारी र १२ वटा निजि विद्यालय छन् । यता अत्याधिक चिसोबाट बालबालिका बढी प्रभावित हुन थालेपछि स्वास्थ्य सुरक्षाको दृष्टिकोणले माघ ७ गतेसम्मका लागि नगर क्षेत्रका ती सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको छ, नगर प्रमुख उत्तम गौतमले भने, माघ ८ गतेबाट मात्रै विद्यालय सूचारु हुने छ ।