सप्तरी जिल्लाको आर्थिक, सामाजिक र राजनैतिक क्षेत्रमा हुँदै गरेको बेथिति र शोषणबारे सप्तरीवासीको हैसियतले जानकार छु । व्यवस्था परिवर्तन गर्न भन्दा मानसिकता परिवर्तन गर्न निकै समय लाग्ने रहेछ । गौरवबोध हुँदै आएको सप्तरीको पत्रकारिकता क्षेत्रको मर्यादामा आँच आउने गरी केही झुठा र केही तथ्यप्रमाण सहित बाहिर आएको सूचना र समाचार, वाद र प्रतिवाद अनी टिका–टिप्पणीले धेरैको मन दुखी छ । पत्रकारिता पेशाप्रति समाजमा वितृष्णा र निराशा ल्याउने कामले अन्ततः लोकतन्त्रको जगलाई कमजोर बनाउँछ । हिजो पनि सबैतिरबाट निराशा छाएका बेला पत्रकारिता नै आशाको केन्द्रविन्दु थियो । प्रहरी होस कि बिद्रोही सबैको जीवनरक्षाको कवच बनेको, प्रजातन्त्रको पहरेदार, गणतन्त्रको सिपाही रहेको पत्रकारिताको मर्यादाको रक्षा हाम्रो पनि चिन्ता र चासोको विषय हो । न्यायका लागि अग्रसर, आवाजविहिनको आवाज, निमुखाको गाँसवास बन्दै आएको आफ्नै जिल्लाको पत्रकारिकता क्षेत्रमाथि भइरहेको प्रहार र पत्रकारिताको आवरणमा हुँदै आएको बेथिति देखेर, सुनेर मर्माहित छु । विभिन्न क्षेत्रमा रहेको कमि कमजोरी, भ्रष्टाचार सार्वजनिक रुपमा सम्प्रेषित भई जनदवाव सृजना हुन सक्यो भने विकासले गती लिन सक्छ र समृद्ध नेपालको सपना पुरा हुन सक्छ भन्ने ठानेको छु । अत्यन्त महत्वपूर्ण जिम्मेवारी बोकेको पत्रकारिता क्षेत्रभित्र थोरै पनि विकृति र विसंगती नआओस र शिर उँचा राखेर गलतलाई औला ठड्याउन सक्ने साहस सदैव कायम रहोस् भन्ने चाहनाले यो समस्या पत्रकारहरुले आफै तत्काल समाधान गर्न सकोस भन्ने अपेक्षा राखेको छु । यसका लागि कुरा लुकाएर वा चपाएर नभई दुध र पानी छुट्याउनै पर्छ । तथ्यप्रमाण र वास्तविकताका आधारमा काखा र पाखा नगरी सम्बन्धित निकाय एउटा निर्णयमा पुग्नु पर्दछ । पुर्खाले आर्जेको सप्तरीको पत्रकारिताको मर्यादा बढाउन र जोगाउन नसके पनि आँच ल्याउने अधिकार कसैलाई छैन् । पत्रकारहरुको अन्य क्षेत्रका व्यक्तिसँग व्यक्तिगत सम्बन्ध हुनु र इमान्दारीतापूर्वक अन्य काम गर्नु अनौठो होइन तर पत्रकारिताको आवरणमा लेनदेन गर्ने, ठेक्का पट्टा र भ्रष्टाचारमा लिप्त हुने, पत्रकारिता गर्ने, झुठोलाई साँचो र साँचोलाई झुठा बनाएर भ्रम सृजना गर्ने, आफैले फैसला ठोक्ने काम आलोच्य हुन् । यसबीचमा पत्रकारहरु बारे नै प्रमाणसहितका केही समाचार उजागर भएको सन्दर्भमा सम्बन्धित निकाय गम्भिर बन्नु पर्ने देखिन्छ ।

मा. सरिता गिरी
प्रतिनिधिसभा सदस्य
2077/05/05