शिव कुमार साह , लहान, माघ २५ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लहान नगर कमिटिको कार्यालय बुधबार लहान ३ हाईवेमा उद्घाटन गरिएको छ । कार्यक्रमकाे अध्यक्षत्ता नेकपा एमाले लहान नगर कमिटिकाे अध्यक्ष राज कुमार साहले गरेको थियोे भने प्रमुख अतिथिमा नेकपा एमाले सिरहा १(क) बाट निर्वाचित प्रदेश सभासदस्य राजेन्द्र प्रसाद चौधरी रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले मधेश प्रदेशको नगरहरुमा व्यवस्थित पार्टी कार्यालय नरहेको प्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा लहान नगर कमिटिको पार्टी कार्यालय आफ्नै जग्गामा सुविधा सम्पन्न भवन निर्माण गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।यस क्षेत्रको विकास आफ्नो प्रमुख उद्देश्य रहेको बताउदै आगामी दिनमा गरिने विकास निर्माण र योजनाहरु यस क्षेत्रका जनाताहरुको सल्लाह सुझावअनुसार गरिने बताउनु भयो । अतिथिका रुपमा नेकपा एमाले केन्द्रिय सल्लाहकार मागैन कामैतले राष्ट्र निर्माणका लागि नेकपा एमालेले लिएको एजेन्डा कार्यान्वयन भए मात्र मुलुक समृद्ध हुने बताउनु भयो । नेकपा एमालेले अगाडि सारेका समृद्धिका योजना अनुसार अगाडि बढ्न सकेमा मात्र देशमा रहेका समस्या समाधान हुने र देश विकास र समृद्धि तर्फ अगाडि बढ्ने बताउनु भयो ।उहाँले लहान नगरपालिकामा पूर्व नगर प्रमुख मुनि साहले गरेका विकास निर्माणका कामहरुको प्रसंसा गर्दै वर्तमान मेयरले गरेको कामले नगरलाई अलपत्र पार्ने जिकिर गर्नु भयो । नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा लहान नगरपालिकाकाे पूर्व नगर प्रमुख मुनि साहले नेकपा एमाले ‘हाम्रो लहान समृद्ध लहान’ को लक्ष्य लिएर अघि बढिरहेको अवस्थामा नगरको विकासकाे लागि राम्रो काममा सहयोग तथा नराम्रो काममा विरोध गर्नु पर्ने अवस्था आएको जनाउनु भयो ।
लहान नगरपालिकामा भएको विकास रोक्ने, नगरवासीलाई दुःख दिने खालको गतिविधि रोकेन भने अब प्रतिवादमा उत्रनुको विकल्प नरहेको समेत जनाउनु भयो । उहाँले हामीसंग धेरै चुनौतीहरु रहेकोले सबै कार्यकर्ता पार्टी प्रति समर्पित भएर अगाडी बढनु पर्ने धारणा व्यक्त गर्नु भयो । कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य प्रदिप चौधरी, नेकपा एमाले सिरहा जिल्ला सचिवालय सदस्य तथा लहान नगर इन्चार्ज राजेन्द्र प्रसाद साहलगायतले मन्तव्य राख्दै नगर कमिटिलाइ सुदृढ बनाउदै पार्टीका हरेक गतिविधिमा नेता कार्यकर्ता लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।नेकपा एमाले लहान नगर कमिटिको कार्यालय उद्घाटन लहान ३ मा स्थापना गरिएको र कार्यालयबाट पार्टीका हरेक गतिविधि र कामहरु सञ्चालन गरिने नगर कमिटि अध्यक्ष साहले बतानु भयो । उपाध्यक्ष पविना सिंहले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रममा सहज कर्ताकाे भूमिका जिल्ला कमिटी सदस्य राम नारायण मेहता र नेत्री रिता यादवले गरेको थियोे । नगर कमिटि उपसचिव विरेन्द्र चौधरीले कार्यक्रम संचालन गर्नु भएको थियो ।