शिव कुमार साह,
सिरहा २१ पौष ।
सिरहाको गोलबजारमा एक जना बालिका बलात्कृत भएकी छिन् । गोलबजार नगरपालिका–१३ दुर्गापुर बस्ने १५ बर्षीया एक बालिकालाई गाउँकै २४ वर्षीय प्रकाश शर्माले बलात्कार गरेको पीडित परिवारको आरोप छ ।
घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको घटना सार्वजनिक भएको हो । गत पुस १४ गते राति किशोरी घरमा एक्लै बसिरहेको बेला शर्माले जबरजस्ती करणी गरेको परिवारजनले बताएका छन् ।
पीडितका आफन्तले जबरजस्ती करणी सम्बन्धी इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दर्ता गराएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले बताए । बालिका एक्लै घरमा रहेको मौका छोपी शर्माले जबरजस्ती करणी गरेको बताइएको छ ।
स्थानीय अनुसार शर्माले फुसको घर भत्काएर भित्र पसेर किशोरीलाई जबरजस्ती करणी गरेको हो । उनीहरू दुई तीन जनाको समूहमा आएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कुरा गोलबजार प्रहरीको भनाई रहेको छ ।