शिव कुमार साह
लहान, १० भाद्र ।
सिरहा जिल्लाभरिका निजी तथा संस्थागत विद्यालयहरु बिहिबार देखि कक्षा संचालनमा आएका छन् । स्वास्थ मापदण्ड पूर्णरुपमा पालना गरि हाल कक्षा ६ देखि कक्षा १२ सम्मको पठनपाठन हुने जानकारी पत्रकार सम्मेलन मार्फत गराईएको हो । कोभिड–१९ लाई ध्यानमा राखी स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागुगरि विद्यालय संचालन गर्ने कुरा प्याव्सनको प्रदेश नं २ को अध्यक्ष मुरारी प्रसाद साहले बुधबार लहान स्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो ।
कार्यक्रममा नेशनल प्याव्सनका जिल्ला अध्यक्ष सुदिपकुमार चौधरी र प्याब्सनका जिल्ला अध्यक्ष लालबाबु रायद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै विद्यालय खोल्ने बारे जानकारी गराईएको हो । शैक्षिक संस्था बाहेक अन्य सबै क्षेत्र खुला रहेको भन्दै विद्यालय खोल्नु अति आवश्यक भएको सो विज्ञप्तीमा जनाइएको छ ।
विगत लामो समयदेखि विद्यालय बन्द रहेको कारण विद्यार्थीहरुको शैक्षिक र मानसिक स्तर दिन प्रतिदिन तल झर्दै गएको भनाइ राख्दै विद्यालय संचालन गर्नमा नेशनल प्याव्सनको पुर्व अध्यक्ष जय प्रकाश चोधरीले जोड दिनुभयो ।
प्रत्यक्ष रुपमा पठनपाठन रोकिनुले बालबालिकामा नाकारात्मक प्रभाव परेको अभिभावकहरुबाट व्यापक रुपमा गुनासो आईरहेको नेशनल प्याव्सनका केन्द्रिय सल्लाहाकार पाण्डव हमाल ठकुरीले जनाए । हमालले भने ‘ पढाइ रोकिनुको कारणले बच्चाहरु कुलतमा फस्न थालेका छन साथै कतिपय त मनोबैज्ञानिक रुपमा डिप्रेसनको सिकार बन्ने स्थितिमा रहेको छ। यसले देशकै भविष्य बिगार्ने भएकोले विद्यालय खुल्न लागेको हो ।’
उनले देशको ७७ औं जिल्लाको संक्रमण अवस्था हेरेर पढाई सञ्चालन गर्नुपर्ने बताए । देशको सबै स्थानीय तह, स्थानीय प्रशासन तथा सरोकारबाला निकायहरुसँग छलफल जारी रहेको र कतिपय जिल्लाहरुमा कक्षा संचालनमा रहेको जानकारी गराउनु भयो ।