अशोक झा राजविराज, २८ श्रावण । सप्तरीमा बुधवार ३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार राजविराज नगरपालिका वडा नं. २ का १० जना, वडा नं. ६ का एकै परिवारका ७ जना सहित ९ जना र वडा नं. ७ का ५ जना र वडा नं. ८ का ४ जनामा संक्रमणको पुष्टि भएको हो । त्यसैगरी रुपनी गाउँपालिका वडा नं. ५ का ४ जनामा संक्रमण देखिएको स्वास्थ्य प्रमुख दुनियालाल यादवले मधेश न्यूज लाई जानकारी दिएका छन् । संक्रमितहरुको अवस्था सामान्य रहेको र उपचारका लागि आइसोलेशन कक्ष ल्याउने तयारी भई रहेको प्रमुख यादवले जानकारी दिए । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय १८ पुगेको छ । यसैबीच जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । मंगलवार राति कोरोनाबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको थियो । सप्तरीको डाकनेश्वरी नगरपालिका वडा नं. ८ घर भई राजविराज नगरपालिका वडा नं. ६ सिरहा रोडमा नयाँ घर बनाई बस्दै आएका ७२ वर्षीय पुरुषको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालाबाट रिपोर्ट आए लगत्तै राजविराजस्थित आइसोलेशन केन्द्र ल्याउने क्रममा उनको मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले जानकारी दिए।