ई-मधेश न्युज
मतदातालाई उपेन्द्र यादवको अपिल– ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’
सप्तरी, फाल्गुन १८ । उपेन्द्र यादव ले आम मतदातालाई सार्वजनिक अपिल गर्दै सुनियोजित रूपमा फैलाइएका भ्रम, हल्ला र अफवाहप्रति सचेत रहन आग्रह गर्नुभएको छ। जनता समाजवादी पार्टी नेपाल का अध्यक्षसमेत रहनुभएका यादव सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ। चुनाव प्रचारको अन्तिम दिन आयोजित कार्यक्रममार्फत उहाँले निर्णायक क्षणमा जनताको मत कमजोर पार्न विभिन्न शक्ति सक्रिय रहेको आरोप लगाउनुभयो। “योजनाबद्ध रूपमा फैलाइएको क्षणिक भ्रमले इतिहास बिर्सन लगाउन खोजिएको छ। तर सचेत मतदाता भ्रमित हुँदैन, ऊ आफ्नो संघर्ष सम्झन्छ,” उहाँले भन्नुभयो। अध्यक्ष यादवले क्षणिक प्रलोभन र अफवाहको लहरमा नबग्न मतदातालाई आग्रह गर्दै आफ्नो त्याग, इतिहास र स्वाभिमान सम्झेर अधिकारको रक्षा गर्ने निर्णय लिनुपर्ने बताउनुभयो। “सचेत मत, बलियो मधेस र सुरक्षित भविष्य हाम्रो साझा संकल्प हो,” उहाँको भनाइ थियो। उहाँले मधेसको अधिकार, पहिचान र स्वाभिमान कुनै दान नभई बलिदानबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्नुभयो। “यो अधिकार कसैले उपहार दिएको होइन, मधेसले सडक र संसद्मा लडेर हासिल गरेको हो,” भन्दै उहाँले मधेसको संघर्षमा निरन्तर साथ दिने शक्ति जसपा नेपाल मात्र रहेको दाबी गर्नुभयो। संघीयता, स्वायत्तता र लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहन आग्रह गर्दै यादवले आजको मतदान प्रतिनिधि चयन मात्र नभई मधेसको भविष्य निर्धारण गर्ने क्षण भएको उल्लेख गर्नुभयो। “मधेस कमजोर पार्ने षड्यन्त्र अन्ततः संघीयता कमजोर पार्ने योजना हो,” उहाँले थप्नुभयो।