ई-मधेश न्युज
उपराष्ट्रपति यादव र भारतीय निमित्त राजदूत पाण्डेबीच शिष्टाचार भेट
लिलाकान्त यादव
काठमाडौं, ०७ माघ ।
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा. राकेश पाण्डेले शिष्टाचार भेट गरेका छन्।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बुधबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा साझा चासोका विविध विषयमा छलफल भएको थियो। भेटका क्रममा उपराष्ट्रपति यादवले नेपाल–भारत सम्बन्ध सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा जनस्तरमा सदियौंदेखि प्रगाढ रहँदै आएको उल्लेख गर्दै यस सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको बताए।
उहाँले भारत सरकारको ‘नेबरहुड फस्ट’ नीतिको प्रशंसा गर्दै नेपाल भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आएको स्पष्ट पारे। साथै भारत नेपालको महत्वपूर्ण विकास साझेदार भएको उल्लेख गर्दै विभिन्न क्षेत्रमा प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरे।
जवाफमा निमित्त राजदूत पाण्डेले भारत नेपालसँग सबै क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताए। उनले विशेषगरी खेलकुद, विशेषतः क्रिकेट, तथा रेल्वे क्षेत्रमा सहयोग विस्तार गर्न भारत इच्छुक रहेको उल्लेख गरे।