ई-मधेश न्युज
उपराष्ट्रपति यादवद्वारा दलित अधिकार, समानता र समावेशितामा जोड
लिलाकान्त यादव,
ललितपुर, १४ पौष ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले दलित समुदायको न्याय, अवसर, समानता र समावेशिताका लागि राज्यका सबै संयन्त्र थप सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ । सामाजिक सद्भाव र समुन्नत समाज निर्माण साझा लक्ष्य भएको उल्लेख गर्दै उहाँले दलित समुदायलाई मूलधारमा ल्याउन दीर्घकालीन र परिणाममुखी पहल आवश्यक रहेको बताउनुभयो ।
सोमबार ललितपुरमा राष्ट्रिय दलित आयोगद्वारा आयोजित ‘पञ्चवर्षीय रणनीतिक योजना २०८२–२०८७’ तथा ‘नयाँ उजुरी व्यवस्थापन प्रणाली’ सार्वजनिकरण समारोहमा सम्बोधन गर्दै उपराष्ट्रपति यादवले रणनीतिक योजनाले दलित समुदायका समस्या समाधान र संस्थागत सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नयाँ उजुरी व्यवस्थापन प्रणालीले दलित समुदायका गुनासा र अधिकारसम्बन्धी विषयलाई व्यवस्थित रूपमा सम्बोधन गर्ने मार्ग खोल्ने उहाँको भनाइ थियो ।
उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र राजनीतिक सहभागितामा दलित समुदाय अझै पछाडि रहेको उल्लेख गर्दै लक्षित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आयोगको सक्रियता अपरिहार्य रहेको बताउनुभयो । साथै, जातीय भेदभाव तथा छुवाछूत अन्त्य, दलित–दलितबीचको विभेद हटाउने र प्राकृतिक विपद्मा जोखिममा परेका दलित समुदायको संरक्षणमा आयोगले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।