ई-मधेश न्युज
सम्माननीय उपराष्ट्रपति यादव र म्यानमारका राजदूतबीच शिष्टाचार भेटवार्ता
लिलाकान्त यादव,
काठमाडौं, १४ माघ ।
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि म्यानमारका महामहिम राजदूत यु म्योम्यिन्टमाउङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सम्पन्न भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक, सामाजिक, सांस्कृतिक, र बहुपक्षीय सहकार्यका विषयमा गहन छलफल भएको थियो।
उपराष्ट्रपति यादवले १९६० मा नेपाल र म्यानमारबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता द्विपक्षीय सम्बन्ध थप प्रगाढ भएको बताउनुभयो। “यो वर्ष (२०२५) नेपाल र म्यानमारले कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सव मनाउँदैछन्,” उहाँले भन्नुभयो, “दुवै देशबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान, र सहकार्यमा आधारित छ।”
उहाँले सन् २०१८ मा भएको द्विपक्षीय परामर्श संयन्त्रको स्थापना र कूटनीतिक तथा सरकारी पासपोर्ट वाहकका लागि भिसा उन्मुक्ति सम्झौताले दुई देशको सम्बन्धमा नयाँ आयाम थपेकोमा खुशी व्यक्त गर्नुभयो।
उपराष्ट्रपतिले नेपाल र म्यानमारको सम्बन्धलाई बौद्ध दर्शनले थप बलियो बनाएको उल्लेख गर्नुभयो। “लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई शान्ति, सद्भाव, सहिष्णुता, र करुणाको प्रतीक हो,” उहाँले भन्नुभयो।
लुम्बिनीमा रहेको म्यानमार स्वर्ण मन्दिरले पनि नेपाल–म्यानमारबीचको सांस्कृतिक र पर्यटन सहकार्यलाई प्रगाढ बनाएको उपराष्ट्रपतिले जोड दिनुभयो।
उपराष्ट्रपति यादवले व्यापार, लगानी, पर्यटन, र सांस्कृतिक सहकार्यसम्बन्धी सम्झौताहरूको प्रभावकारी कार्यान्वयनले दुई देशबीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। बिमस्टेक सदस्यका रूपमा नेपाल र म्यानमारले दक्षिण एसिया र दक्षिणपूर्व एसियाबीचको सहकार्यलाई अघि बढाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो।
महामहिम राजदूत म्योम्यिन्टमाउङले नेपाल र म्यानमारको साझा बौद्ध धरोहरलाई सम्मान गर्दै बुद्धको जन्मभूमि नेपालमा काम गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई म्यानमारले सम्मान र प्रशंसा गर्ने बताउँदै क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा दुई देशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उपराष्ट्रपतिले म्यानमारको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा म्यानमारी जनताको सुख, शान्ति, र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभयो। भेटवार्ताले नेपाल–म्यानमार सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ।