

लिलाकान्त यादव,
राजविराज, ०२ बैशाख ।
नयाँ वर्ष २०८२ को अवसरमा मधेसमा सिरवापावैन र जुडशितल पर्व परम्परागत रूपमा धार्मिक र सांस्कृतिक उल्लाससहित मनाइएको छ।
विशेषगरी मिथिला क्षेत्रमा मनाइने यी पर्वहरूमा घरको सरसफाइ, नुहाइधुवाइ, शुद्ध भोजन, तथा पानी छ्याप्ने परम्परा महत्वपूर्ण मानिन्छ। घरका जेष्ठ सदस्यहरूले साना सदस्यहरूलाई पानी छ्यापेर शुभकामना र आशिष दिने प्रचलन छ। यसले शरीर र मन दुवै शुद्ध हुने विश्वास गरिन्छ।
सिरवापावैनमा विशेष प्रकारका परिकार—सत्तु, दही, चिउरा, ओखर, हरियो मिर्च, काँक्रो आदि सेवन गर्ने परम्परा रहेको छ। जुडशितलमा भने मानिसहरू एकअर्कामा पानी छ्याप्दै शीतलता, मैत्रीभाव र आपसी सम्बन्ध बलियो बनाउने सन्देश आदान–प्रदान गर्छन्।
जनविश्वास अनुसार, यो दिन शुद्ध रहनु, नरिसाउनु र शुभ बोल्नु राम्रो मानिन्छ। यसले वर्षभरि स्वास्थ्य, सुख र शान्ति मिल्ने विश्वास गरिन्छ।
मधेसका विभिन्न जिल्लाहरूमा मेलाजात्रा, पारिवारिक जमघट, तथा स्थानीय कार्यक्रमहरू पनि आयोजना भएका छन्। पर्वमा सहभागी जनसाधारणले यस परम्परालाई संस्कृति, सद्भाव र प्रकृतिप्रेमको प्रतीकका रूपमा लिने गरेका छन्।
प्रतिक्रिया
सम्बन्धित समाचार
