ई-मधेश न्युज
‘विश्व श्रवण दिवस’ नेपालमा मनाइयोः श्रवण हेरचाहलाई सहज बनाउने आह्वान
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १९ फागुन ।
“सोचाइ परिवर्तन गरौंः सबैका लागि कान र श्रवण हेरचाहलाई सुलभ बनाऔं!“ नाराका साथ नेपालमा आज ‘विश्व श्रवण दिवस’ मनाइएको छ।
सन् २००७ देखि हरेक वर्ष मार्च ३ मा विश्व स्वास्थ्य संगठन (ध्ज्इ) ले यस दिवसलाई कान र श्रवण स्वास्थ्य सेवाको प्रवद्र्धन तथा बहिरोपन रोकथामका लागि मनाउँदै आएको छ।
यस अवसरमा नेपाल वाक तथा श्रवण संघका अध्यक्ष प्रभा दवाडी र महासचिव अनिल कुमार अधिकारी ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नीतिनिर्माता, स्वास्थ्यकर्मी र सरोकारवालाहरूलाई श्रवण हेरचाह सेवाको सहज पहुँच सुनिश्चित गर्न आह्वान गरेका छन्।
नेपालमा लाखौं व्यक्ति कान तथा श्रवणसम्बन्धी समस्याबाट पीडित रहेको उल्लेख गर्दै संघले समयमै उचित जाँच, रोकथाम र उपचारले श्रवण गुमाउने समस्या कम गर्न सकिने बताएको छ।
संघले कान र श्रवणसम्बन्धी समस्यालाई सामान्य रूपमा नलिई समयमै परीक्षण गर्न, साथै श्रवण सहायता यन्त्र, कोकलियर इम्प्लान्टजस्ता उपचार विधिहरूलाई सहज उपलब्ध गराउन सरकारलाई प्रभावकारी नीति निर्माण गर्न आग्रह गरेको छ।
नेपालमा श्रवण तथा वाक विशेषज्ञहरूको संख्या कम भएकाले यस क्षेत्रमा आवश्यक पहल गर्न नीतिनिर्माताहरुलाई संघले अनुरोध गरेको छ।