ई-मधेश न्युज
नेकपा एमाले सिरहा जिल्ला कमिटीद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न
ईमधेश न्यूज सम्वाददाता,
सिरहा, ०१ फाल्गुन ।
नेकपा एमाले सिरहा जिल्ला कमिटीको आयोजनामा वडा केन्द्रित तीनमहिने अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई एमालेमा फर्केर देश विकासको अभियानमा सहभागी हुन आग्रह गरे। उनले राजनीतिमा नौटंकीले दीर्घकालीन सफलता नपाउने बताउँदै देशको समृद्धि र स्थायित्वका लागि एकजुट हुनुपर्ने धारणा व्यक्त गरे।
ज्ञवालीले माओवादी केन्द्रका केही नेताहरू अनावश्यक नाटक गर्दै मूल राजनीतिक लक्ष्यबाट भट्किएको आरोप लगाए। उनले भने, “हामीले दीर्घकालीन विकास र राष्ट्रको हितलाई प्राथमिकता दिनुपर्छ।“
कार्यक्रममा उनले स्थायित्व, सुशासन र विकासलाई प्राथमिकता दिने एमालेको स्पष्ट खाका रहेको उल्लेख गर्दै जनतालाई सकारात्मक परिवर्तनको अनुभूति गराउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे। साथै, देशलाई आर्थिक तथा सामाजिक रूपमा अघि बढाउन सबै राष्ट्रवादी शक्तिहरू एकताबद्ध हुनुपर्नेमा विशेष जोड दिए।
नेकपा एमालेको तीनमहिने अभियानअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूलाई प्रभावकारी बनाउन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।