सृष्टि शाक्य ठाकुर- जनकपुरधाम
लकडाउनको समयमा घरभित्रै बसी घरको सरसफाईका कार्यहरुमा व्यस्त रहन्छु । त्यस्तैमा मेरो साढे तीन वर्षको छोराले दराजबाट आफ्नो नीलो रङ्गको स्कुल ब्याग निकालेर ”आमा स्कुल कहिले खुल्छ ? “भन्ने प्रश्नको उत्तर मलाई दिन गाह्रो भयो । मैंले भने बाबु लकडाउन खुलेपछि जाने स्कुल । उसले भर्खरै आएको रेलको दर्शन पनि गरि आएको थियो एक दिन अगाडि । त्यसैले ऊ फेरि भन्छ –आमा अब रेल पनि चल्न थाल्यो लकडाउन खोल्यो हैन? अब म उसलाई फेरी बुझाउने कोशिस गर्छु कि लकडाउन खुल्यो तर स्कुल खुलेको छैन । केहि समय अझै लाग्छ । ३ /४ वर्षको बालकको धेरै प्रश्नहरुको उत्तर दिन प्रायः कठिन नै हुन्छ । तर यो प्रश्न समयले गर्दा मलाई गाह्रो लाग्यो ।
बजारमा सबै पसलहरुको झिलिमिलि बत्तिले जनकपुर अब फेरी झकिझकाऊ भएको तस्बिर त्यो साढे ३ वर्षको बालकको नजरले पनि खिच्यो । आखिर कुन कस्तो के को लकडाउन? कति दिन सम्म ? बालबालिकाको मस्तिष्कमा पनि यो लकडाउनले आघात पुर्याई सकेको छ । अब घर घरमा कोरोना अपडेट पनि सुन्न छाडिसकेको समय छ । कारण बालबच्चा पनि डा. जागेश्वर गौतमको नक्कल गरी आज यति संक्रमित थपिए भन्न सिकिसकेका छन् ।
घर बाहिर जाँदा आमा मलाई मास्क लगाईदिनु हैन भने कोरोना लाग्छ भन्न पनि जानिसकेका छन् । साथै आफ्ना बुवालाई स्यानिटाइजर छुट्ला है भनी याद दिलाउन पनि । साँच्चै कोरोना ,लकडाउन अब जीवनका सहयात्री बनिसकेका छन्। यसका साथ नै हामिले आफ्नो जीवनका सम्पूर्ण कार्यहरु संचालन गर्नुपर्छ । अब भोलि विद्यालय खोल्दा भने बच्चाहरुको कम्प्लेनको विषय भने फरक रहनेछन् । जस्तै ःम्याम मेरो मास्क चोर्यो , मेरो स्यानिटाइजर पोखाइदियो, म्याम उसको मास्क भन्दा मेरो मास्क राम्रो छ, म्याम उसको मास्क फोहोर छ , उसले मेरो अगाडि हाछ्यूँ गर्यो आदि । जब कि साना कक्षामा कम्प्लेनहरु भनेका कलम चोरेका, टिफिन पानि खाईदिएको , किताब कापी चोरेका र च्यातिएका आदि थिए ।
समय परिवर्तनशील छ । समय भनेको अगाडी बढ्छ । तर विगत ६ महिनाको लकडाउन र विद्यालय वर्तमान समयसम्म बन्दै रहनु भनेको सम्पूर्ण विद्यार्थीलाई समयले पछाडी धकेल्नु हो ।
सरकारको अनलाइन कक्षा पनि नेपालको राजधानीमा पनि त्यती प्रभावकारी सिद्ध भएको छैन । अनलाइन कक्षाका निहुँमा teenagers हरुले घरबाट मोबाइल फोन पाउन थालिसकेका छन् । जसमा ६ महिनाको लकडाउनमा दर्जनौं TIK TOK बनाउन भ्याईसकेका छन् । मोबाइल , टि.भी, र इन्टरनेटको नशामा प्रायः विद्यार्थीहरु झुमिरहेका छन् । अब मोबाइल , टिभी र इन्टरनेटको नशा छुटाउन पनि”rehabilitation centre” पुनर्स्थापना केन्द्रको स्थापना गर्नुपर्ने अवस्थाको सिर्जना हुन पनि बेर छैन ।
आजको परिस्थितिमा अनलाइन शिक्षा भन्दा अभिभावक शिक्षाको जरुरी छ । शिक्षित अभिभावकले आफ्ना बाल बालिकालाई समय तालिका मिलाई पढाउनसके अनलाइन कक्षाको आवश्यकता पनि न्यून हुन्थ्यो । तर आज पनि शहरका अभिभावकका तुलनामा गाँउका अभिभावक अशिक्षित छन् । जो शिक्षित छन् त्यसलाई काम र जागिर अर्थात अर्थोपार्जन गर्ने तिर व्यस्त हुने हुँदा आफ्ना बालबालिकालाई समय दिन पाउँदैनन् जहाँ अनलाइन शिक्षा पक्कै पनि असम्भव छ ।
अहिले सरकारले wifi र internet free गर्ने कुरा गरे पनि smart phone र laptop सबैलाई उपलब्ध गराउन पक्कै पनि असमर्थ छ । नेपाललाई राजधानी काठमाण्डौं मा मात्र सिमित गर्नेहरुले सिंहदरबार रोल्पा रुकुमतिर र शीतल निवास कैलाली कञ्चनपुरतिर सारेर हेरोस् ।अनि सिंगो नेपाललाई विकास गर्न सकिन्छ , अनलाइन कक्षा देशैभरि शुरु गर्न सकिन्छ । हैन भने कुर्शीको खेल खेल्ने खेलाडीहरुले देश बेच्न पनि बेर नलगाउला ।
लकडाउनले बालबालिकाको पढाइ लेखाई मात्र नभई मन–मनमष्तिस्कमा पनि नकारात्मम प्रभाव पारेको छ । स्कुल जाने बानी छुटाइदिएको छ । तसर्थ यस समस्याको समाधान गर्न सरकारले चाँडो भन्दा चाँडो विद्यालय सञ्चालनको बारेमा सोच्न अति आवश्यक छ। हैन भने जब स्कुल खुल्छ तब प्ले ग्रुपमा नयाँ भर्ना भएका नानीहरुर्झै विद्यार्थी स्कुल जाने भन्यो कि झर्को मानेर रोइकराई गर्नेछन् भने ठूला कक्षाका विद्यार्थीहरु class bunk गर्नेछन् ।