जनकपुरधाम २६ भदौ। प्रदेश –२को राजधानी जनकपुरधामको वडा नं ८ वलवा टोलमा सन्त श्री सत्य नारायण आलोक द्वारा उनको निजि जग्गामा घर बनाई नीजि लगानीमै बाल आश्रम संचालन गर्दै आएका छन् ।
सन्त सत्य नारायण आलोक को वास्तविक नाम सत्यनारायण कुशवाहा –(कोइरी ) रहेको भएपनि उनी सत्यनारायण आलोक वा आलोक बाबाको नामले परिचित छन् । उनको साबिक घर जिल्ला महोत्तरी गा.वि.स. बिजलपुरा ४ हाल बर्दिवास– १२ भएता पनि उनी लगभग गृहत्याग नै गरी आश्रम संचालन गरिरहेका छन् । माता श्रीमती देवकी देवी तथा पिता श्री रामदेव महतो कुशवाहाको तेश्रो पुत्रको रुपमा उनको जन्म आफ्नै घरमा भएको थियो ।
सानै देखि मिलनसार र तेजस्वी रहेका आलोक, बाल्यकाल देखि नै सहयोगी र समाजसेवी भावनाको साथै धर्म कर्ममा साह्रै रुचि र आस्था राख्दथे । विद्यालय स्तरको पढाई स्थानिय विद्यालयमा गरे पनि विश्व विद्यालय स्तरको अध्ययन त्रि. वि. किर्तिपुरबाट अंग्रेजी विषयमा स्नातकोत्तर ( एम.ए) ईग्लिश सम्म पुरागरेका छन् । उनि एक अविवाहित सन्त समेत हुन् ।
शुरुवातमा जनकपुरधामका विभिन्न विद्यालय र कलेजहरुमा अंग्रजी विषयको अध्यापकको रुपमा कामगरिरहेका उनी विभिन्न धर्मका धर्मगुरुहरुको प्रवचन र सत्संगमा सहभागी हुँदै आएपछि एक कबिर धर्म गुरुबाट प्रेरित भई कबिर धर्म अवलम्बन गरी विभिन्न ठाँउमा सत्संग र प्रवचन गर्दा गर्दै उनी यो सांसारिक मोह त्याग गरी समानसेवामा लीन हुने बिचारमा पुगे । उनको उक्त उत्तम बिचारमा सहमति जनाउँदै प्रेरित गर्ने काम उनी सँगै सत्संगमा सहभागी हुँदै आएका माँ मीराले गरीन् । माँ मीराको वास्तविक नाम मीरा देवी साह रहेको र उनको माइत महोत्तरी जिल्लाको लोहरपत्ती र ससुराली भतही इनरवा रहेको माताको एक छोरा र एक छोरी छन् । छोरा अमेरीकामा छ भने छोरी नेपालमै एक इन्जिीनयर पत्नी हुन् । माइत र ससुराली दुवै पक्ष धनी भएता पनि गृहत्याग गरी मीरा माँ अहिले बालआश्रममै रहि आश्रमका बालबालिकालाई आमाको ममता दिँदै हेरचाह गर्दै आएकी छन् ।
वि.सं. २०५९ सालमा आफ्नो व्यक्तिगत कमाईबाट अर्जित जनकपुरधामको वालुवा टोलको एक कठ्ठा जमिनमा आश्रम निर्माण गरी विभिन्न स्थानका गरीब परिवारका १३ जना बच्चाहरु ल्याई तीनलाई आफ्नै लगानीमा लालन पोषण र शिक्षा दिक्षा दिने कार्य शुरु गरेतापनि पछि ती बच्चाका माता पिताले शिक्षा दिक्षा पूरा भएपछि आफ्नै घर लिएर गए । एउटा यस्तो पनि घटना भयो कि एक अत्यन्त गरीब दम्पत्तिले आफ्ना तीन सन्तान आश्रमलाई नै सुम्पिइ पछि दुई सन्तान फिर्ता लाने र एक सन्तान आश्रमलाई नै दिने वाचा गरेका थिए । उक्त बच्चाहरु शारिरीक रुपले निकै कमजोर र रोगी रहेता पनि सन्त आलोक र मीरा माँले आफ्नो मिहेनत लगन र सेवाले ती बच्चालाई स्वस्थ दक्ष र तेजस्वी बनाए । पछि ती दम्पत्ति आएर सन्त माथि कानुनी अड्चन लगाई बच्चाहरु फिर्ता लगेका थिए ।उक्त घटनाले सन्त आलोकको मनमा केही खिन्नता आए पनि संकल्प भने टुटेन ।
वि.सं. २०६६ सालमा आश्रमको नजिकैको झाडीमा एउटा नवजात शिशु फालिएको पाएपछि उक्त शिशु ल्याई पालन पोषण गर्न शुरु गरेपछि सन्त आलोक र माँ मीराको लक्ष्य नै अनाथ शिशु लाई पालन पोषण गर्ने बनेको छ ।
उक्त आश्रमको दर्ता प्रक्रिया वि.सं. २०६७ सालमा जिल्ला प्रशासन कार्यालय धनुषामा पूरा गरी आश्रमको नाम कबिर बाल आश्रम राखियो ।
हाल विभिन्न स्थानमा फालिएको नवजात शिशु् ल्याई पालनपोषण गरिरहेका आश्रममा १३ जना अनाथ बच्चाहरु छन् । जसमध्ये ११जना छोरी र २ जना छोरा बच्चा रहेका छन् । सन्त आलोकले उक्त बच्चाहरुलाई कसैले अनाथ भनेको रुचाउँदैनन् ।उनले सबै बच्चाको जन्म दर्ता समेत आफ्नो नाम बाट गराएका छन् भने सबै बच्चाको थर आलोक राख्ने गरेका छन्। उनी अनाथ शब्दको विरोधि रहेकै कारण आश्रमको नाम अनाथ आश्रम नराखी बाल आश्रम राखेका छन् ।
आश्रम संचालन र बच्चा संकलन मात्रले हुँदैन त्यसको परिपूर्ति गर्नको लागि अर्थको व्यवस्था गर्नुपर्ने हुन्छ । अहिलेको यस्तो स्वार्थी संसारमा समाजसेवामा लागि परेका सन्त आलोकले आश्रमको लागि अर्थ व्यवस्थापन निकै समस्या हुने गरेको बताउ्रँछन्। अर्थ व्यवस्थापनकै लागि उनी विभिन्न स्थानमा सतसंग गर्ने गर्छन् र त्यसमा श्रद्धाले चढाएको भेटिले आश्रम संचालनमा टेवा पुगेको बताउँछन् । त्यस पश्चात पनि उनि विभिन्न रेडियो, एफ. एम. र टेलिभिजन मार्फत प्रवचन समेत गर्ने गर्दछन् । अहिले आश्रममा बच्चाहरुला्ई दुधका लागि तीनवटा गाई समेत पालेका छन् ।
विभिन्न संघ सस्था र व्यक्तिहरुले समय समयमा सहयोग प्रदान गर्ने गरे पनि त्यसले दैनिकि व्यपस्थापन भने पक्कै पनि गर्दैन । जनकपुरधामका अक्षर विद्या मन्दिर विद्यालयले पठन पाठनको जिम्मेवारी लिएको छ। त्यस्तै जनकपुरधामकै मिथिला बोर्डिङ्ग स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष आश्रममा दैनिकी सामानहरु उपलब्ध गराउने गरेको छ ।
नेपालमा संघियता आएपछि तीन तहको सरकार बनिसक्दा पनि हाल सम्म आश्रमलाई कुनै पनि सरकारले सहयोग प्रदान गरेका छैनन् । अनाथ बालबालिकाको संरक्षणको जिम्मेवारी सरकारले लिनुपर्नेमा त्यस्ता बालबालिकाको जिम्मेवारी बोकेका आलोकले एक जिम्मेवार नागरिक र सरकारको लागि पनि उदाहरणीय काम गरेका छन् ।
नेपालको संविधान २०७२को भाग ३ को धारा ३९ मा भएको बालअधिकारको व्यवस्था अनुसार प्रत्येक बालबालिकाले गाँस ,वास, कपास, सुरक्षा, नाम शिक्षा स्वास्थ्य र पहिचान सम्बन्धि अधिकार अरु बालबालिका जस्तै अनाथ बालबालिकालाई पनि व्यवस्था भएकोमा सो कार्य सरकारको काम आश्रमले अनाथ बालबालिकालाई यी सम्पुर्ण व्यवस्था गरिहालेता पनि आश्रमप्रति सरकार र सरोकारवालाको ध्यान नजानु अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण अवस्था हो ।
प्रदेश २ सरकारको महत्त्वाकांक्षि योजना मध्ये “मुख्यमन्त्रि बेटि बचाऊ बेटि पढाऊ” योजना रहेको छ । जसको मुख्य उद्देश्य नै छोरीको अधिकार सुनिश्चत गर्नु , छोरी पढाउनु र बचाउनु रहेको छ । यो योजनाले छोरीको जन्म हुँदा नै विमा गर्ने र उसको पढाई र विहेवारीमा सहयोग गर्नु तथा महिला (छोरी) माथीको हिंसा कम गर्नु हो । यस्तोमा कविर बाल आश्रमले १३ जना बच्चा मध्ये ११ जना छोरी राखी उनिहरुको पालनपोषण, शिक्षा, स्वास्थ्य, सुरक्षाको व्यवस्था मिलाई उनीहरुलाई जन्म दर्ता समेत गराई सक्दा नाम र परिचयको समेत व्यवस्था गरेकोमा प्रदेश सरकारले जुन छोरिको आमा बुवाको पहिचान छ उसको लागि व्यवस्था गर्नु तर आश्रमका छोरीका लागी कुनै व्यवस्था नगर्नु पनि भेदभावपूर्ण र निन्दनिय छ ।
आश्रमका संचालक आलोक बाबाका अनुसार उनले बच्चा कुनै न कुनै ठाउँमा जिउँदै फालिएका अवस्थामा भेटेका बताउँछन्। उनका अनुसार यसरी बच्चा फालिनुमा अहिले नव युवा युवती बीच हुने अनैतिक सम्बन्ध नै प्रमुख कारण हो र यसको विरुद्ध उनले समाजमा जनचेतना जगाउने कार्य पनि गरिरहेका छन्। हुनत उनले जम्मा १९ वटा बच्चा आश्रम भित्र्याएका थिए तर ६ जना बच्चा ३ महिना देखि १९ महिना सम्म पालनपोषण गरेपछि मृत्यु भएको थियो । यसरी मृत्यु भएका बच्चाको दाह संस्कार समेत गरेका थिए । यस्तो अवस्थामा पनि स्थानिय प्रशासनले मृत बच्चाको शव चिहानबाट झिक्न लगाई त्यसको पोष्टमार्टमको नाममा दुःख पनि दिएको थियो। जबकि उनले बच्चा मृत्यूको जानकारी पश्चात मात्र किरिया गरेका थिए ।
सत्यनारायण आलोक समाजमा उदाहरणीय काम गर्नुको साथै जनचेतना फैलाउने, बाल अधिकारको सम्बन्धमा वकालत गर्नुको साथै यस्ता बच्चा फाल्ने पापी र दुष्कर्मी आमा बावु प्रति आक्रमक रुपले प्रस्तुत पनि हुने गरेका छन् । उनि भन्छन् यस्ता आमा बावु भेटाए अवश्य नै कानुनि दायरामा पुर्याउने छु ।
उनले गरिरहेका यस्तो मानव धर्मको उच्चतम मुल्यांकन गरी पुरस्कृत गर्नु सरकार जनप्रतिनिधि, बाल , महिला अधिकारकर्मी तथा अन्य संघ संस्थाको पनि परम दायित्त्व हुन जान्छ ।
यस्तो आश्रमको संचालन र व्यवस्थापन गर्नुको लागि नियमित रुपले आर्थिक सहयोग कोषको व्यवस्था गरिनु पनि तीनै तहको सरकारको परम र प्रथम दायित्त्व हुनजान्छ । यसका साथै यसरी अनैतिक सम्बन्ध स्थापना गरी बच्चालाई जन्म दिई फाल्नु पनि बाल अधिकारको साथै मानव अधिकारको पनि हनन् गर्ने भएकोले यस्ता पापीको खोज गरी कडा भन्दा कडा सजाय दिलाउनु पनि राज्यको दायित्त्व हो ।