( सृष्टि शाक्य ठाकुर ,जनकपुरधाम)
“ खै खै आजको लोडसेडिङ्ग तालिका हेरुँ” भन्दै बिहानीको शुरुवात हुन्थ्यो ।उता बाले आज पनि काम सबै थप्प हुने भन्दै दिक्क मानेर चियासँगै पत्रिका पढि पढि यो बहुदलले त देशै खायो अब फेरी पञ्चायती व्यवस्था ल्याउनुपर्छ भनि सरकारलाई गुनासो आफ्नै चियामा पोख्नु हुन्थ्यो । आमाले आज राइसकुकर र हिटरमा खाना नपाक्ने भन्दै स्टोभमा डम दिन थाल्नुहुन्थ्यो । उता हजुरआमा हाम्रा पालामा त टुकि बालेर सबै काम हुन्थ्यो अनि दाउरामा खाना अब त सबै सुबिधा भएर पनि नभएसरी नै छ भनि आफ्नो पालाको राम कहानी शुरु गर्दै टोलमा भएको गणेश मन्दिरमा पूजा गर्न निस्कनुहुन्थ्यो । हजुरबा चाहिँ भगवान शरण भन्दै बिहान बिहान मच्छिन्द्र बहाल चहार्दै असनबाट तरकारी लिएर आउनु हुन्थ्यो । “हाय लोडसेदिङ्ग“ सबैको मुखमा एकै स्वर । कहिले ६ घण्टा , कहिले बिहान बेलुका ३/३ घण्टा कहीले १८ घण्टा पनि यो लोडसेडिङ्ग । मान्छेको जीवन उल्लु जस्तो भएको समय । दिनभरी सुतेर रातभरी बत्तीको पर्खाइमा जागेर काम गर्नुपर्ने । साँझ पर्ने बित्तिकै ” ल ल छिटो भात खाएर सुत बत्ती कति खेर आउला, सबेरै उठेर होमवर्क बनाऊ भन्नु हुँदा ”खै हामीले त टुकि बालेरै पढेका हौं“भनी हजुरबाले थप्नु हुन्थ्यो । त्यतिकैमा तल टोलका दिदीहरुले “ए बहिनी , आइज हाम्रै पालो ”य बाट गाउने है“ भनी चिच्याउन शुरु हुन्थ्यो । म चाहिँ खाना खाइरहनु भएको बा सँग गीत ”यह लाल रङ्ग कब मुझे छोडेगा “भन्ने सुनेर तल चोकमा आएर एक लाइन भए पनि गाउँथेँ । त्यस ताका बा खूब मोहम्मद रफि, लता , मुकेश को गीतहरु सुन्ने र गाउने गर्नुहुन्थ्यो । लोडसेदिङ्गको बेला मनोरञ्जनको साधन नै अन्ताक्षरी खेल्ने हाम्रो दिन चर्या नै बन्थ्यो । हाम्रो लागी त रमाइलै हुन्थ्यो लोडसेडिङ्ग । टि.भी.को ठाउँमा बाटोमा गुडेको गाडीको लाइटलले घरको भित्तामा बन्ने छाँयाका आकृतिहरु हाम्रो लागि सिनेमा हल बन्थ्यो । दुई चार जना साथीहरु सँधै सँगै बसी त्यही भित्ते छायाँलाई सिनेमा हेरेझै हे-थ्यौँ । तर बा आमाका लागी रातभरी जागेर कारखाना चलाउनु पर्ने बाध्यता । यस्तैमा पसलमा मैनबत्ती पनि खूब बिक्रि हुन्थ्यो । आमाले सीसाको बोटलको टुकि बनाइदिनु हुन्थ्यो ।सिसाको मत्तितेलवाला ल्याम्प पनि किनि दिनुहुन्थ्यो ।
राति टुकि बालेर पढ्ने बानी कक्षा ३ /४ मा पढ्ने नानीलाई के होला र म मा पनि थिएन । बिहान स्कुलमा म्यामले होमवर्क खै भन्दा एउटै शब्द ”लोडसेडिङ्ग“ मैनबत्ती सक्यो त्यसैले । त्यो ताका अहिले जस्तो घरघरमा इन्भर्टर र जेनेरेटर हुँदैनथ्यो । भएपनि हुनेखाने घरमा अन्ततः लोडसेदिङ्गले काठमाण्डौलाई पनि नछोडेपछि आखिर ७/८ कक्षामा पुग्दा सम्म मैनबत्ती र टर्च बालेर होमवर्क गर्ने र पढ्ने बानीको विकसित हुँदै गयो भने अन्ताक्षरीको दोहरी पनि टोलबाट विलिन हुँदै गयो ।
यसरी पू्रै विद्यार्थी जीवन लोडसेदिङ्गमै सेटिङ्ग गर्दै कक्षा १२ सम्मको अध्ययन पनि सक्यो । तर नेपालमा लोडसेडिङ्ग सकेको थिएन । बा को सरकारप्रतिको गुनासो पनि सकेको थिएन । तर विकल्पको लागि घरमा इन्भर्टर र कारखानामा जेनेरेटर भने आइसकेको थियो । इन्द्रचोक र न्यूरोडका गल्ली गल्लीमा चाइनिज टर्चले व्यापारले मैनबत्तीलाई ओगटिसकेको थियो । मोबाइलमा पनि टर्चले डेरा जमाइ सकेको थियो । आखिर काठमाण्डौं विना बिजुलि नै झिलिमिलि देख्न थाल्यो ।
समय बित्त्तै जाँदा बा का कुराहरु कानमा गुञ्जिन थाले । नेपालको राजधानीमा जनतालाई यति सास्ती छ भने उपत्यका बाहिर कस्तो होला? कति ठाउँमा त बिजुलिको पोल पनि छैनन् भन्ने कुरा सुन्दा के नेपाल भनेको काठमाण्डौं मात्रै हो र भन्ने प्रश्न उठ्छ । त्यस ताका नेपालमा राजतन्त्रको अन्तिम चरण चलिरहेको थियो ।
अहिलेको परिप्रेक्षमा लोडसेडिङ्ग त छैन तर पूरा विश्व नै लकडाउनले घेरेर पनि अलि अलि सास फेर्ने बाटो खुलाईदिएको छ । काठमाण्डौको गल्ली गल्लीमा रहेका पूराना आँखिझ्यलालहरुझैं……..।
जनकपूरको परिप्रेक्षमा यही असोज महिना देखी सबै बजार खुल्ला भएपनि बितेका चैत्र, बैशाख , जेठ,असार , साउन भदौको लकडाउनले पूरै जनजीवन थप्प पारेको छ । त्यो पनि नेपालको जनताहरुलाई पहिले नै धाउ धाउ परेको समय थियो । प्रदेश नं. २को त झन आधा गाउँ नै खाडी मुलुक मै पलायन भएको अवस्था छ । पहिले राजा, प्रधानमन्त्री, सात दल अब केन्द्रिय संघिय र स्थानिय सरकार आखिर यही नै भयो जुन जोगी आएपनि कानै चिरेको । दुई विकसित छिमेकी देशहरुको बीचमा रहेर पनि विकासोन्मुखमै सिमित रहेको । प्रदेश दुईको परिप्रेक्षमा त झन यहाँका जनशक्ति नै विदेश पलायन भैरहने अवस्था छ ।
आजको समयमा आफ्नो गाउँ ठाउँ आफै विकास गर्ने समयमा प्रदेश २को युवाहरुको विदेश पलायन राष्ट्रको लागी ठूलो घाटा हो । लकडाउनले ऋण थप्नु मात्र नभई मानसिक , सामाजिक तथा संवेगात्मक पक्षलाई पनि गहिरो असर पारेको छ ।
व्यापार व्यवसायीलाई ऋणको व्याजको मार्का, किसानलाई मलखाद र बजारको मार्का झन् निजि विद्यालय संचालकलाई विद्यार्थीको बाँकि बक्यौता असूली ,स्कुलको , होस्टेलको घरभाडा , बसको किस्ताको मर्का र समस्या यथावत नै छ । यातायात र हवाइ यातायात पनि ठूलै घाटा नै व्यहोरीरहेको छ । यस्तैमा दिन प्रतिदिनको आत्महत्याको कथा , बलात्कृत नारीको व्यथा, घरबहालमा बस्नेको दुःख पिँडा र अब घरबेटिले गर्ने हत्या पनि यही लकडाउनकै उपज हो ।
समय सामान्य हुन अझ समय लाग्न सक्छ । तर सरकारको सक्रिय योजना र भूमिका नभए देशका जनतामा भोकमरी नै महामारीको रुप लिन बेर लाग्दैन । समय गतिशील छ तर विगत ६ महिनाको समय निर्दयी पनि रह्यो। कसैको लागि काल बन्यो, कसैको लागि रोग बन्यो , कसैको लागि बेरोजगारी बन्यो , कसैको लागी अनिकाल बन्यो , कसैको लागी घरबेटीको गाली बन्यो । तर त्यो विगत हो, भूत हो , अतीत हो । अब भविष्य कसरी सुदृढ र सुचारु गर्ने भन्ने ठोस र पक्का मजबूत गुरुयोजना बनाउन अत्च्यन्त जरुरी छ ।
आजको वर्तमान परिस्थितिमा सरकार बाटै केही राहत होला कि भनि पूरा देशवासी ठूलो आशामा छ ।