पंकज ठाकुर , जनकपुरधाम । कुनै पनि स्थान , समुदाय वा सिङ्गै राष्ट्रको विकास भन्नाले त्यस क्षेत्रको सम्पूर्ण पक्षहरुको सकारात्मक र निरन्तर परिवर्तनलाई सम्झनु पर्दछ । ती पक्षहरुमा सामाजिक पक्ष, आर्थिक पक्ष , सांस्कृतिक पक्ष र भौतिक पक्ष पर्दछन् । जब यी सबै पक्षहरुको एकैसाथ , निरन्तर, सकारात्मक परिवर्तन हुन्छ तब बिकास हुने गर्दछ वा यी परिवर्तन नै विकास हो ।
विश्वका विकसित राष्ट्रहरुको विकासक्रमलाई अध्ययन गर्ने हो भने ती राष्ट्रहरुले आफ्नो विकासक्रममा सबै पक्षहरुलाई एक साथ अगाडि सारेका थिए । नेपालको परिप्रेक्षमा हेर्ने हो भने विकासका नाममा भौतिक विकासलाई बढि प्राथमिकतामा राखेको देखिन्छ । त्यसमा पनि मधेशमा विकासका नाममा नयाँ सडक निमार्ण गर्नु , मठ मन्दिर , मस्जिद बनाउनु पोखरी खन्नु र सौन्दर्यीकरण गर्नुलाई नै प्राथमिकतामा राखेको देखिन्छ । हुन त विकासका पूर्वाधार मध्ये यातायात एक प्रमुख पूर्वाधार हुनु र यातायातका लागि सडक अनिवार्य हुन्छ त्यसैले यसको विकास गर्नु जरुरी नै छ । तर यसका साथै विकासका अन्य पूर्वाधार जस्तै शिक्षा, स्वास्थ्य , बिजुलि , खानेपानी , संचार र मानव संसाधनको पनि विकास गर्नु अति आवश्यक छ ।
अहिले जसरी सरकारले भौतिक पूर्वाधार विकासमा आफ्ना सम्पूर्ण संयन्त्र लगाएको छ त्यसरी नै मधेशका जनता पनि भौतिक विकासलाई नै आफ्नो लक्ष्य बनाउने गरेका छन् । यहाँका मानिसहरुले केहि धन आर्जन गरि दुई टुक्रा जमिन शहरमा किन्ने र त्यसमा सानो देखि ठूलो घर निर्माण गरि त्यसमा तल्ला थप्नुलाई नै विकास मान्ने गर्दछन् भने यस्तै विकास गर्ने मानिसले समाजमा इज्जत पनि पाउने गरेका छन् । यस्तो प्रवृत्तिले गर्दा अहिले मधेशमा विकासको परिभाषा नै परिवर्तन हुने देखिन्छ ।
मधेशमा ठूला महल बनाउने तर शौचालयको लागि खुला मैदानको प्रयोग गर्ने प्रवृत्ति विद्यमान छ । शिक्षा स्वास्थ्य र शुद्ध खानेपानिको व्यवस्था दयनिय रहेको छ । मधेशको विकासको लागि सर्व प्रथम यहाँका जनतामा शिक्षा र स्वास्थ्य सम्बन्धि जनचेतना जगाउनु जरुरी देखिन्छ । हरेक परिवारमा शौचालयको अनिवार्यता गर्नुपर्नेछ भने शौचालय निर्माण गर्न अशक्षम परिवार वा समुदायको लागि सरकारीस्तरबाट व्यवस्था गरिनु पर्दछ । खुला दिशा पिशाबले हुने विभिन्न रोगले स्वास्थ्यमा मात्रै असर नपारी परिवार र समाजको आर्थिक अवस्था पनि खल्बलाउने गरेको छ । हुनत मधेशका अधिकांश स्थान खुला दिशामुक्त स्थान घोषित गरिएता पनि यसलाई व्यवहारमा उतार्न भने सकिएको छैन । अहिले सम्म पनि यहाँका गाउँघर देखि प्रमुख शहरसम्म खुला दिशा पिशाब एउटा ठूलो चूनौति र समस्या बन्न पुगेको छ । यो समस्यालाई समाधान गर्न निजि देखि सार्वजनिक शौचालय निमार्ण र पर्याप्त जनचेतना फैलाउनुको अर्को विकल्प छैन ।
मधेशको स्वास्थ्य समस्या पनि अर्को समस्या रहेको छ । सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि अस्पताल स्थापना गरे पनि त्यसमा विकासको नाममा भवन निर्माण नै प्रमुख योजनामा पर्ने गर्दछ । जनस्वास्थ्य सुधारको लागि स्वास्थ्य क्षेत्रको विकास गर्नु जति आवश्यक छ त्यति नै जनमानसमा स्वास्थ्य सम्बन्धि जनचेतना जगाउनु । यहाँ आम मानिसमा व्यक्तिगत सरसफाई ,व्यक्तिगत स्वास्थ्य , उपलब्ध स्वास्थ्य सेवाको उचित र अधिकतम प्रयोगको ज्ञानको कमि देखिएकोमा सो सम्बन्धि जनचेतना सर्वप्रथम गरिनु पर्ने देखिन्छ । स्वास्थ्य सम्बन्धि ज्ञानको कमिको उदाहरणको रुपमा हाल आम जनमानसले कोविड १९को विषम परिस्थितीमा पनि मास्क नलगाउने , नियमित साबुन पानिले हात नधुने र सामाजिक दुरी कायम नगर्नेलाई लिन सकिन्छ । अहिलेको वैज्ञानिक युगमा पनि धामि झाक्रिमा विश्वास गर्नु र स्वास्थ्य समस्यामा पनि त्यसमा भर पर्नु अत्यन्तै दुःखद रहेको छ । सरसफाईको कमि , खुला दिशा पिशाब र अशुद्ध पिउने पानिको प्रयोगले बर्षेनी लाखौं मानिस यस क्षेत्रमा झाडा पखाला जस्ता रोगले ग्रसित भई हजार्रौको संख्यामा मृत्यु समेत हुने गर्दछ । तसर्थ यस क्षेत्रमा सरोकारवालाको विशेष ध्यान जानुपर्ने देखिन्छ ।
वार्षिक बजेटको उल्लेखनिय भाग शिक्षा क्षेत्रमा लगाईने गरेको छ । शिक्षा क्षेत्रको विकासका नाममा पनि विद्यालयको भवन निमार्ण नै प्रमुख लगानिको क्षेत्रमा पर्ने गर्दछ । विद्यालयको भवन निर्माण मात्रले शिक्षाको विकास हुँदैन । मधेशको साक्षरता प्रतिशत पनि पहाडको साक्षरता प्रतिशत भन्दा न्यून रहेको छ । सायद यसैले होला यहाँका मानिसको आनिबानि र व्यवहारमा परिवर्तन नभएको । गाउँघरमा दैनिक जस्तो हुने झैझगडा, अर्काको खुट्टा तान्ने बानि सहकार्यमा कमि आम बोलचाल र कुराकानीमा अश्लील शब्दको प्रयोग आदि सबै अशिक्षाकै परिणाम हुन् । अनैतिक कृयाकलाप , मारपिट , चोरि, लुट ,बलात्कारका प्रमुख कारण मध्ये शिक्षा पनि एक हो ।
मधेशको भौतिक विकास भन्दा पनि शैक्षिक विकासलाई प्रमुख प्राथमिकतामा राख्नु पर्दछ किनकि शिक्षाले विकासका अन्य पूर्वाधारहरुलाई आफूतिर तान्ने गर्दछ । भनिन्छ जहाँ शिक्षा त्यहाँ स्वास्थ्य , जहाँ स्वास्थ्य त्यहाँ धन र जहाँ धन त्यहाँ विकास । शिक्षाले नै विकासमा प्रयोग हुने मानव संसाधनको पनि विकास हुने भएकोले विकासको प्रमुख एजेण्डा नै शिक्षा हुनु पर्दछ । शिक्षालाई परिमाणमुखि नबनाएर परिणाममुखि बनाइनु पर्दछ । विद्यालयमा भवन निर्माण भन्दा पनि गुणस्तरिय र वैज्ञानिक शिक्षा पद्धतिमा विशेष जोड दिनुपर्ने देखिन्छ ।