“आमा”! जननी, माता , माँ , अम्मा , मम्मी ,मम्मा आदि इत्यादी नामले यस धर्तीमा जन्म दिने आमालाई नै पुकारिन्छ । भनौं यस धर्तीमा पहिलो दर्शन आमारुपी भगवानको नै हुन्छ । आमाको कोखमा नौ महिना बसेपछि धर्तीमा सास फेर्दा आमाको नै काखको सौभाग्य प्राप्त हुन्छ । न्यानो , प्यारो काखले प्रत्येक बच्चालाई आमाको काखमा सुरक्षित भएको अनुभव गराउँछ ।
लड्दा, घाउ चोटपटक लाग्दा या ठूलो भएपछि पनि दुःखमा आमाको नै नाम उच्चारण हुन्छ । धन्य छ आमा ! तिमीले नै यस ब्रम्हाण्डलाई निरन्तर चलाइरहेका छौ । अनेक दुःख कष्ट सहेर पनि आफ्नो अंशलाई जन्माइरहेका छौ । भनिन्छ भगवानले आफू हरेक ठाउँमा हरपल मानवसँग बस्न नसक्ने भएकोले भगवानले आमाको सृष्टि गर्नुभएको हो ।
जन्मे देखि नहुर्किञ्जेल आमाको लालनपालन र स्याहार सुसारमा बालबालिकाको जीवन व्यतीत हुन्छ । आफ्ना केहि इच्छा , आकांक्षा , आवश्यकता बुवाबाट पूर्ती नभए आमा सँग जिद्दी गरेर भए पनि पूरा गरिन्छ । छोरीलाई त झन आमा एक असल साथीको रुपमा पनि भेेेटाउँछ । आमाको गालीमा माया , ममता , स्नेह र चिन्ताको झलक हुन्छ । म त भन्छु आमासँग असल शिक्षा पाएका व्यक्तिहरुले नै संसार जित्न हौसला प्राप्त गर्छन ।
‘नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः।
नास्ति मातृसमं त्राण, नास्ति मातृसमा प्रिया।।’ –महर्षि वेदव्यास
तर बाल्यकाल वा जन्मिने बित्तिकै आमाबाट छुट्टिन वा गुमाउनु पर्नेहरुको पिँडा आमाको लागि झन गाढा हुन्छ । हरपल हरक्षण हजारौंको बीचमा पनि एक्लोपन रहन्छ । उसलाई कसैले माया नगरेको आभाष सदा रहन्छ ।अरुका नजरमा बिचरा , टुहुरा अनाथका रुपमा सँधै प्रस्तुत हुँदा आमा गुमाउनुको आत्मग्लानी भैरहन्छ । उनले आमा गुमाउनु भनेकोत पाप गरे सरह नै अनुभूति हुन्छ । कत्तिको त हेलाको दुश्भाव पनि खेप्न बाध्य हुन्छन । यसले बालबालिकामा नराम्रो मानसिकताको विकास हुन जान्छ । तिनिहरुको लालनपालन र स्याहार सुसारमा त कमी नै हुन्छ साथै बाल्यकालमा अपार्याप्त मातृस्नेहले तिनीहरु भित्रैबाट कमजोर रहन्छ ।आफ्ना मनका कुरा को सित पोखौं भन्ने अन्यौलमा पर्दछ । मनका कुरा मनमै राख्ने बानी पर्न थाल्छ । फलतः धेरै बालबालिका कुलत र कुसंगतीमा फस्ने संभावना प्रबल हुन्छ । घरमा ममता पूर्ण सौहार्द वातावरणको कमीले बालबालिकाहरु बाहिर बाहिरै रमाउने ,साथीहरुसँग नै आफ्नो समय बिताउने , घरमा एक्लै बस्न रुचाउने , घरमा हुने जमघटमा सामेल हुन नरुचाउने आदि जस्ता असामाजिक व्यक्तित्वको विकास हुन जान्छ । जसले बालबालिकामा आत्मबलको कमी गराउनुको साथै आफ्नो भविष्यको लक्ष्य निर्धारण गर्न समेत अन्यौलता ल्याउछ । छोरी मान्छे वा बालबालिकालाई आमाको अभावले उनीहरुमा प्राकृतिक रुपमा हुने महिनावारी आदि प्रतिको अज्ञानताले गर्दा तिनिहरु लज्जित हुनुपर्ने परिस्थितिको पनि सुजना हुन जान्छ । समाजमा उपस्थित केहि अमानविय वर्गहरुले त झन यस्ता बालबालिकाको नकारात्मक फाइदा उठाउने , कुलतमा फसाउने तथा चेलिबेटीलाई ललाईफकाई बेचबिखन सम्म गरिदिन्छन्।
“हुने हार दैव नटार ”भन्छन् , जसले जन्मने बित्तिकै आफ्नी आमा गुमाएका हुन्छन् तिनीहरुले त फेरी आफ्नी आमा फिर्ता पाउन सक्दैनन् । तर आज भोलि आमा बुवाको झगडाका कारण छोरा छोरीले आमा बुवा दुवैसँग बस्न पाइरहेका छैनन् । तिनिहरुको एक असमझदारीले बालबच्चाको पूरा जीवन नै अन्धकारमा धकेलिदिन्छन् । यसलाई आजभोलि सभ्य भाषामा “डिभोर्स “ या ”सम्बन्ध बिच्छेद “ भनिन्छ ।
एक श्रीमान र श्रीमतीको मायाको चिनोनै तिनिहरुको छोराछोरी हुन्छ । तसर्थ छोराछोरीलाई जति आमाको माया ममता चाहिन्छ त्यति नै बुवाको पनि चाहिन्छ । भनिन्छ जब एक बच्चाले आमाको पूर्ण माया ,ममता स्नेह र बुवाको निर्देशन या बुवालाई पथ प्रदर्शकको रुपमा प्राप्त गर्छ त्यही बच्चा भविष्यमा एक असल व्यक्तिका रुपमा प्रस्तुत हुन्छ ।
समाजमा विद्यमान हर अपराध र अपराधिहरुको पृष्ठभूमि खोतल्ने हो भने तिनिहरुको पारिवारिक पृष्ठभूमिले तिनिहरुलाई अपराधि हुन उक्साएको हुन्छ । या भनौं आज भोलि चलिरहेको नयाँ मानसिक रोग डिप्रेशन पनि परिवारमा माया ममता , स्नेह र हेरचाहको कमीले नै बढिरहेको छ । जसको आत्मबल अलि पनि बलियो छ तिनिहरु मानसिक समस्यामै अल्झिरहन्छन् जसमा आत्मबलको कमी छ तिनिहरु नै आत्महत्या जस्ता चरम विन्दुमा पुग्दछन् ।
त्यस्तै प्रायजसो आजभोलि घटिरहने एक घटना नवजात शिशुहरुलाई फ्याँक्नु पनि हो । ठाउँ ठाउँमा प्लाष्टिकको झोलामा, बक्सामा , घाँसको झारीमा , नदि नालामा भर्खर जन्मेका नवजात शिशुहरु फ्याँक्ने पनि एक आमा नै हो । आफ्नो कोखमा नौ महिना सिंचेर यस धर्तीमा जन्म दिएपछि त्यसरी फ्याँक्नु भनेको महापाप हो । जन्मने बित्तिकै त्यस्ता बच्चाले के अपराध गरे त ? अपराध त आमबावुले गरे त्यस बच्चालाई जन्माएर । यस्तै बच्चाहरु अनाथ आश्रममा पालेर सयौं बच्चाका आमा बन्नेहरु पनि यहि धर्तीमा छन् ।
तसर्थ हे आमाहरु ! आफ्नो स्वार्थ , गल्ती, बाध्यता र विवशताको शिकार आजबाट कोहि बच्चाहरु नहोस् । हैन भने यस्ता बच्चाहरुले आफ्नै आमालाई धिकार्ने छन् , सराप्ने छन् र आमा शब्दको इज्जत पनि विलोप हुनेछन् । किनकि आमाको एक भूलले बच्चाको पूरा जीवन खराब हुन सक्छ ।
तसर्थ घरमा आमा , आमाको माया ममता , स्नेह र हेरचाह बालबच्चालाई मलजलको रुपमा कार्य गर्दछ ।जसले असल व्यक्ति निर्माणका साथै व्यक्तिको सुनौलो भविष्य र सुन्दर विश्वनै निर्माण गर्न टेवा पुर्याउँछ ।
सृष्टि शाक्य ठाकुर