“ ल ल पिडारी चौक पिडारी चौक ” को आवाजले म ब्यूँझिए काठमाण्डौं – जनकपुरधामको बस यात्राबाट । मेरो जनकपुरधाम सँग पहिलो भेट हुन गइरहेको थियो । त्यही समयमा नेपालमा पनि पहिलो गणतन्त्रको निर्वाचन हुँदै या भनौँ नेपालले गणतन्त्रसँग पहिलो भेट गर्दै । नेपालको गणतन्त्रसँग र मेरो जनकपुरधामसँगको भेट एकै समयमा हुँदै थियो । मेरो मनमा पनि खुलदुली थियो ,कस्तो होला जनकपु्रधाम । जसरी देशमा गणतन्त्रले के कसरी परिवर्तन ल्याउला भनि थियो खुलदुली सारा नेपाली जनताहरुमा ।
नेपालको राजधानीबाट तराईमा झर्दा मलाई लाग्यो यो म कहाँ आइपुगेँ । धूलो उड्ने “हाई वे“ झुपडिका चिया पसल, अनि एक दुई तल्ले घरले मेरो माष्तिस्कमा जनकपुरको चित्रण गर्न गाह«ो बनायो । उता डाँडा डाँडा चढेर स्वयम्भूनाथ, बुढानिलकण्ठको दर्शन हुन्थ्यो । अब यता जानकि मन्दिर कता होला भनि मैंले आँकलन गर्न सकिन ।
जनकपुरको अव्यवस्थित फोहोर मैला , ढल नालाले मलाई स्तब्ध बनायो । म एका विहानै उठेर वकिल टोलबाट मिल्स एरिया सम्म फोहोर फ्याँक्ने कन्टेनर खोज्दा खोज्दै नभेटेपछि मैले फोहोरको झोला पुनः घर भित्रै ल्याएर राखेँ । मलाई टाइम मसिनमा बसेर काठमाडौंबाट बीस वर्ष पछाडी आइपुगेँ जस्तो लाग्यो । अन्ततः केही समयमै मलाई यहाँको वातावरण पनि मेल खान थाल्यो । उता गणतन्त्र नेपालका पहिलो राष्ट्रपति पनि धनुषा बाट नै बन्लाले मनमा हौसला बढ्यो अब जनकपुर त स्वर्ग जस्तै बन्ने भो । सडकहरु कालोपत्रे पनि भए, धेरै पोखरीहरु सफा पनि भए , ठाउँ ठाउँमा स्कूल र हस्पिटल पनि अनगीन्ती खूले । जनकपूरले विकासका सिँढि चढ्न थाले । तर बिडम्बना एउटै थियो यहाँका मानिसमा रहेको संकुचित सोच, अवातावरणीय व्यवहार , त्यो थियो ”खुल्ला शौच “ । यो विषयमा मैले चर्चा गर्नु कति उपयुक्त वा अनुपयुक्त होला त्यो मलाई थाहा भएन । तर खाली जमिनमा फोहोरको दंगुरले जनकपुरधामको सौंदर्यलाई आज पनि कुरुप बनाउँदै छ ।
त्यही फोहोरको दंगुर , अव्यवस्थित ढल निकास र मच्छरले गर्दा आन्तरिक पर्यटकहरु या भनौँ काठमाण्डौंका मानिसहरु जानकि मन्दिर दर्शन गर्न त आउँछन् तर मनमा एक नकारात्मक छाप पनि बोकेर जान्छन् । भन्छन् ”जानकी मन्दिर त धेरै सुन्दर छ तर जनकपुर अलि धेरै फोहोर ठाउँ रैछ“ भन्दा आफैलाई लाज लाग्न थाल्छ । हाल गाउँपालिका नगरपालिकामा परिनत हुँदा पनि गाउँ घरका मानिसहरुमा चर्पीको प्रयोगको ज्ञान भएर पनि चर्पीको बानी बसाल्न नसक्नु यो निकै नै लज्जास्पद कुरा हो । के लाज भनेको घुम्टो भित्र मात्र सिमित रहन्छ त ? म जस्तै अरु धेरै जनकपुर बाहिरका मानिस यहाँ आई बसोबास गर्दा उनीहरुमा यो भान नहोस् कि ”यो म कहाँ आइपुगेँ “ । त्यसको लागी गाउँ गाउँबाट चर्पीको प्रयोगको कडा नियम बनाई त्यसको अवलम्बन गराउन तिर नगरपालिकाका मेयर , उपमेयर तथा स्थानिय बुद्धिजीवीको ठूलो भूमिका रहन जान्छ ।
जनकपुर प्रदेश २ को अस्थाई राजधानी बनिसक्दा पनि यसलाई व्यवस्थित बनाउन नसक्नु निकै नै दुर्भाग्यको कुरा हो । हाल आएर जनकपुरमा जानकि मन्दिर , गंगासागर मात्र नभई जनकपुर –जयनगर रेलवे पनि थपिँदै छ । तसर्थ जनकपुरलाई स्वच्छ सफा र हराभरा राख्नु स्थानिय तह , स्थानिय सरकार , स्थानिय बुद्धिजिवी तथा बासिन्दाको परम दायित्व हुन आउँछ । यसका लागि हरेक नगरपालिकाले घर घरमा फोहोर उठाउने, र उठाए बापत मासिक रुपमा केहि रकम लिई फोहोरको व्यवस्थापन गर्न सकिन्छ । फोहार उठाएपछि त्यसलाई जैविक र अजैविक छुट्ट्याई कम्पोष्ट मल बनाउन तथा Re-use / Recycle गर्न सकिन्छ । त्यसको लागि हरेक नगरपालिकाले फोहोर संकलन गर्ने कर्मचारीको व्यवस्थापन गरी स्थानिय तहमा नै रोजगारीको सृजना गर्न सकिन्छ । यसका साथै Dumping site को छनौट गर्दा पनि मानव वस्ती भन्दा टाढा छनौट गर्नु पर्छ ।
यसका साथै विद्यालय स्तरमा पनि हरेक कक्षामा “Nature club”अर्थात ”प्रकृति क्लब “को स्थापना गरि नगरपालिकास्तर बाट नै विद्यालयहरुमा हरेक शनिबार वातावरण सम्बन्धि जनचेतना तथा फोहोर मैला व्यवस्थापनका सीपहरुको ज्ञान दिन सकिन्छ । साथै हामिले पुनः प्रयोगमा ल्याउन सकिने बस्तुहरुको जानकारी तथा तालिम दिन पनि अति आवश्यक छ । अनि मात्र स्वच्छ जनकपुरधाम स्वच्छभूमी , ज्ञानभूमी तपोभूमी बन्न सकिन्छ र रहिरहन्छ ।
सृष्टि शाक्य ठाकुर,जनकपुरधाम