मधेश न्यूज् सम्वाददाता,
जनकपुरधाम, १७ फाल्गुन ।
धनुषाको जनकपुरमा बिहीवार मधेश प्रज्ञा प्रतिष्ठानले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष राम भरोसी कापरीको अध्यक्षतामा आयोजित वार्षिकोत्सव कार्यक्रमको उद्घाटन सामुहिक रुपमा गरिएको थियो ।
कार्यक्रमको उद्घाटन अध्यक्ष कापरी, प्रतिष्ठानका सदस्य दिनेश कुमार यादव, महान्यायधीवक्ता विरेन्द्र ठाकुर, धनुषाका प्रमुख जिल्ला अधिकारी सहितकाले सामुहिक रुपमा गरेका बताइएको छ ।
आम संचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव, गोरखापत्रका व्युरो संयोजक धीरेन्द्र प्रसाद साह सहितकाको उपस्थितिमा भएको सो कार्यक्रममा सप्तरीका दिनाभद्री लोकगायक विष्णु यादव र थारु लोकगायक लालु चौधरीलाई सम्मान गरिएको छ भने धनुषाका रास गायक जोगिन्द्र पण्डित र मिथिला चित्रकलामा मिथिलेश्वर देवी कर्णलाई सम्मान गरिएको छ ।
कार्यक्रममा सुनिल मल्लिकले मैथिली लोकगित प्रस्तुत गरेका थिए भने सर्लाहीका तामाङ कालाकारहरुले तामाङ भाषामा आफ्ना कला प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा प्रतिष्ठानले प्रशासन गरिरहेको प्रज्ञा दर्पण त्रैमासिक पत्रिकाको तेस्रो अंकको लोकार्पण समेत गरिएको छ ।