ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, १९ साउन ।
स्थानीय सरकारसित समन्वय गरी विकास कार्य अघि बढाइने मुख्यमन्त्री सरोजकुमार यादवले बताउन ुभएको छ ।
शुक्रबार प्रदेश समन्वय परिषदको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले जनताकै लागि विकास गर्ने भएकोले प्रदेश सरकारले स्थानीय सरकार सित समन्वय गरेर अघि बढ्न चाहेको विश्वास दिलाउनु भयो ।
प्रदेशका योजनाहरु एवम् युवा र कृषिलाई जोडेर आएको बजेट नियमन गर्न निरन्तर अनुगमन समिति सक्रिय बनाइने घोषणा पनि उहाँले गर्नुभयो ।
प्रदेशको विकास कार्यमा देखापरेको अनियमित क्रियाकलापलाई नियमन गर्न दुई वटा गाडी निरन्तर अनुगमनको लागि खटाइने जानकारी पनि उहाँले दिनुभयो ।
अनुगमन समितिको काम चेकिङ जस्तो हुनेछ, उहाँले भन्नुभयो–१५ दिनको काम २५ दिनभन्दा माथि जानुहुँदैन् ।
सोही अवसरमा गृह, संचार तथा कानून मन्त्री मोहम्मद समीमले प्रदेश सरकारले स्थानीय निकायसँग समन्वय नगरेको प्रसंगमा प्रदेश सरकारलाई मात्र दोष दिएर हुदैन् भन्नुभयो ।
स्थानीय तहले समेत कुनै कार्य गर्दा प्रदेशका माननीयहरुसँग समन्वय गर्नुपर्छ, उहाँले भन्नुभयो ।
एकअर्काको परिपुरक हुनुपर्छ हामी मिलेर जानुबाहेकको विकल्प छैन् उहाँले थप्नुभयो । स्थानीय तहले प्रदेश सरकारलाई स्वामित्व ग्रहण गर्ने वातावरण बनाउने पनि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
निमित्त मुख्य सचिव किशोर कुमार चौधरीले आजको बैठक असाध्यै महत्वपूर्ण रहेको कुरा छलफलबाट पुष्टि भएको बताउनुभयो ।
उहाँले बजेट अगावै परिषद्को बैठक जरुरी रहेको भन्दै यसबाट योजना दोहोरिनेबाट जोगिन्छ भने प्रष्टयाउनुभयो ।
प्रदेश समन्वय परिषद्को बैठक नियमित बनाउन कार्यविधि नै बनाउने उहाँले व्यक्त गर्नुभयो ।
परिषद्को सदस्य सचिव एवम् प्रदेश सचिव रामकृष्ण पुडासैनीले सवालहरुलाई सहीरुपमा पहिचान गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
सिरहा जिल्ला समन्वय समितिका प्रमुख दिनेशकुमार महतो, बाराको कलैया नगरपालिकाका नगर प्रमुख बिनोद साह, रौतहटको गौर नगरपालिकाका प्रमुख शम्भु साह, धनुषाका गणेशमान चारनाथ नगरपालिकाका उपप्रमुख तुलसा कुमारी पाण्डेय, महोत्तरीका गौशाला नगरपालिकाका उपप्रमुख रेनुकुमारी महतो, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका उपप्रमुख सरिताकुमारी यादव लगायतले परिषद्को बैठक नियमित गर्नुपर्नेमा जोड दिनुभयो ।