ई–मधेश न्यूज संवाददाता
जनकपुरधाम,, १६ साउन ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल भारत सिमा क्षेत्र, जनकपुर धाम प्रवेश द्वार नजिक महोत्तरीको मटिहानी नगरपालिकामा ११० फिट अग्लो राष्ट्रिय झण्डा अनावरण गरेका छन् ।
मंगलबार मटिहानी वडा नम्बर–७ स्थित तस्मैयाबाबा उद्यानमा निर्मित ११० फिट अग्लो पोलमा राखिएको विशाल आकारको नेपालको राष्ट्रिय झण्डा यादवले फहराएका हुन् ।
झण्डा अनावरण गर्दै उपराष्ट्रपति यादवले राष्ट्रध्वजा स्थापना गरी यहाँका जनताले राष्ट्रिय गौरवलाई शिखरमा राख्दै राष्ट्रप्रति उच्च अपनत्वको भावना प्रदर्शन गरिएको बताए ।
तराई–मधेश सुख्खा क्षेत्रमा परिणत भएकोमा चिन्ता व्यक्त गर्दै उपराष्ट्रपति यादवले किसानले ठूलो समस्याको सामना गर्नुपरेकोमा चिन्ता व्यक्त गर्दै यस्तो अवस्थामा संवेदनशील भई समस्याको समाधान गर्नु सरकारको दायित्व भएको उनले बताए ।
झण्डा उद्घाटन कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा देखिएका सिंचाइ र खानेपानीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै यसको लागि आवश्यक पाईला अघि बढाइएको र चाँडै नै यसको परिणाम देखिने मुख्यमन्त्री यादवले बताए ।