लिलाकान्त यादव,
राजविराज, ०९ साउन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका द्वारा विद्यालय कर्मचारी र बाल बिकास शिक्षक लाई दिँदै गरेको तलब दुई त्रैमासिक अवधि भरिको तलब नदिएको विरुद्ध आन्दोलित रहेका उनीहरुले आन्दोलन स्थगण गरेका छन्।
सोमबारदेखि हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयको आगाडी धर्नामा रहेका ५७ जना कर्मचारी तथा शिक्षकहरुले मंगलबार नगरपालिकाले आगामी हुने नगरसभामा छुट भएका तलब रकमहरु बजेट विनियोजन गर्ने बताए पश्चात सो आन्दोलन स्थगण गरेका हुन्।
आन्दोलन संघर्ष समितिका संयोजक इन्द्र नारायण राउतले नेतृत्व गरेको सो आन्दोलन लाई लक्षित गरी नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरे ।
यसअघि विद्यालय कर्मचारीहरुले संघीय अनुदान तर्फ ८ हजार र स्थानीय तहबाट ७ हजार गरी मासिक १५००० र बालविकास शिक्षकहरूले संघीय अनुदानबाट १० हजार र स्थानीय तहबाट ७ हजार गरी मासिक १७ हजार पाइरहेका थिए । तर आर्थिक वर्ष २०७९–०८० को तेस्रो र चौथो त्रैमासिक तलवमा उनीहरूले स्थानीय तहबाट दिँदै आएको तलब नपाउँदा र विदाका लागि आवेदन पत्र दिएर विदा मागेको भएपनि नगरका शिक्षा अधिकृत हरि नारायण साहले बलजझती सो विदा दिनको समेत तलव कटौती गरेको मौखिक, लिखित तथा ज्ञापन पत्रको माध्यमबाट समेत नगरपालिका समक्ष माग गरिरहदा पनि आलटाल गर्दै आएका थिए।
पछि पटक पटक भन्दा पनि नगरपालिकाले मागको वेवास्ता गरेपछि उनीहरू यस अघि पनि एक चरण आन्दोलनमा उत्रेका थिए र सोमबार को आन्दोलन भने दोस्रो चरणको आन्दोलन रहेको वाल विकास शिक्षिका प्रियंका झाले बताइन्।
नगरपालिकाले सोमबार एक विज्ञप्ति जारी गर्दै तत्काल आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए र सोही आधारमा मंगलबार वार्ता द्वारा आन्दोलन स्थगित भएको संघर्ष समितिका संयोजक इन्द्र नारायण राउतले बताए।
नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’यस नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुबाट नगरपालिका कार्यालय परिसरमा बसेको शान्तिपूर्ण धर्ना कार्यक्रममा भएको छलफल सम्बन्धमा यो विज्ञप्ती जारी गरिएको छ ।
सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुलाई संघीय सरकारबाट विद्यालय कर्मचारीको लागि क्रमशः रु.८,०००।– रु. १०,०००।– प्राप्त हुने गरेको र नगरपालिकावाट विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुलाई क्रमशः रु. ७०००।– र ७,०००।– थप गरी तलव सुविधा प्रदान गरिदै आएको छ ।
आर्थिक वर्ष २०७९–८० मा यस नगरपालिकामा संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान प्राप्त भएको र यस नगरपालिकाबाट विनियोजन हुने रकम समेत विनियोजन भएको तर केहि प्राविधिक त्रुटीवश अपुग वजेट विनियोजित भएको थियो ।
संघीय सरकारवाट प्राप्त भएको सशर्त अनुदानको रकम विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुलाई असार मसान्तसम्मको रकम र नगरपालिकाबाट विनियोजित भएको रकम समेत प्रथम र दोश्रो त्रैमासिक किस्ता सम्बन्धित विद्यालयमा निकासा भईसकेको छ ।
अपुग बजेटको सम्बोधन तथा बजेट विनियोजन गर्न नगरसभाबाट पारित गराउनु पर्ने कानुनी व्यवस्था रहेको छ । यस नगरपालिकाको हालसम्म पनि विशेष नगरसभा तथा असार १० गते हुनु पर्ने नगरसभा समेत हुन नसकेको अवस्था सर्वविदितै छ ।
विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुले माग गर्नु भएको विषय जायज रहेको र आ.व. २०७९–८० को तेश्रो र चौथो त्रैमासिकको छूट भएको तलब सुविधा वापतको रकम आगामी हुने नगरसभामा समावेश गरी तलब सुविधा प्रदान गर्न तत्पर रहेको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छु र आजैदेखि धर्ना ÷ आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्नुहुन समेत अनुरोध गर्दछु ।’