लिलाकान्त यादव,
राजविराज, १० माघ ।
सप्तरीमा माघ ५ गते रौतहटको गौरमा भएको बलिदानी दिवसको कार्यक्रममा प्रमुख अतिथीको रुपमा मंत्री रेणु यादव गईरहेको अवस्थामा जनमत पार्टीका कार्यकर्ताहरुले लाठीभाटा लिएर अवरोध गरिएको विरुद्ध मंचबाट मंत्री यादवले गौर नरसंहार गरी जनमत पार्टीका अध्यक्षलाई मार्ने धम्कीपूर्ण अभिव्यक्ति दिएको घटनाले दुवै पार्टीले एकअर्कालाई प्रति आक्रमक भई सडकमा उत्रेका छन् ।
सप्तरीको राजविराजमा आईतवार जनमत पार्टीले मंत्री यादवको पुतला दहन गरेका थिएभने यता जसपा द्वारा पनि प्रदर्शन हुन थालिएको छ ।
लगत्तै सोमबार मन्त्री यादव समर्थित कार्यकर्ताहरुले पनि राजविराजमा प्रदर्शन गर्दै मन्त्री यादवमाथी डा. राउतले षडयन्त्र गरेको भन्दै उनी बिरुद्ध नाराबाजी गरेका छन् ।
सप्तरी मन्त्री यादव तथा जनमत पार्टीका अध्यक्ष डा. राउत दुबैको गृहजिल्ला हो । दुबैनेता आमनेसामने भएपछि दुबै पक्षका कार्यकर्ता आ–आफ्नो नेताको समर्थनमा सडकमा उत्रेका छन् ।
मन्त्री यादवको समर्थनमा प्रदेश महिला संघ र समाजवादी महिला संघ सप्तरीको अगुवाईमा स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको जुलुस डा. राउत बिरुद्ध नाराबाजी गर्दै बजार क्षेत्र परिक्रममा गरेको थियो ।
सो क्रममा सहभागिहरुले महिलामाथीको अभद्र व्यवहार बन्द गर, दोषिमाथी कारवाही गर लगायतका नाराबाजी गर्दै जुलुस जनआन्दोलन चौकमा पुगि बिरोध सभामा परिणत भएको थियो ।
सभालाई प्रदेश सभा सदस्य अभिषेक यादव, जसपा महिला विभागकी सचिव लक्ष्मी चौधरी, समाजवादी महिला संघकी जिल्ला सचिव राखी यादव, हुनमाननगर कंकालिनी नगरपालिकाकी उपप्रमुख सरिता यादव, जसपा नेता लक्ष्मण यादव लगायतले सम्बोधन गर्दै किसान आन्दोलनका नाममा अराजक गतिविधी गर्न लागेको भन्दै त्यस्ता गतिविधी कडाईका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।
अघिल्लो दिन जनमत पार्टीका कार्यकर्ताहरुले मन्त्री यादवको पुतला दहन गदै उनको बर्खास्तीको माग गरेका थिए । गृह जिल्लाका दुबै नेताका समर्थक एक अर्काप्रति आक्रमक बन्दै गएपछि भिडन्त निम्त्याउने खतरा बढ्दै गएको भन्दै स्थानिय बुद्धिजिविहरुले दुबै पक्षले संयमता अपनाउनु पर्ने र राजनीति चरित्र देखाउनु पर्ने सुझाव दिएका छन् ।