लिलाकान्त यादव,
राजविराज, ०८ माघ ।
माघ ५ गते जनता समाजवादी पार्टी नेपाल द्वारा रौतहटको गौरमा आयोजित बलिदानी दिवस कार्यक्रमलाई विथोल्न जनमत पार्टीका कार्यकर्ताहरु द्वारा गरिएको अभद्र क्रियाकलाप प्रति आपति जनाउँदै जसपाले शनिवार एक प्रेस विज्ञप्ति जारी गरी भत्र्सना गरेको छ ।
आयोजित कार्यक्रममा प्रमुख अतिथि रुपमा सहभागी भएकी जसपाका कार्यकारिणी सदस्य तथा भौतिक पूर्वाधार मन्त्री रेणु यादव रौतहट पुगेको बेला जनमत पार्टीका नेता तथा कार्यकर्ताले रोक्ने प्रयास गरेको जसपाले पार्टीले जनाएको छ ।
जारी विज्ञप्तिमा बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले सुनियोजित ढङ्गबाट लाठी, भाटा, ढुङ्गा आदि लिई कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम बिथोल्ने आतङ्क मच्चाउने र हिंसा भड्काउने काम गरेको दाबी गरेको छ ।
जसपाको कार्यक्रम तथा यसको कुनै नेता तथा कार्यकर्ता विरुद्ध लक्षित यस्ता आपराधिक कार्य अब उपरान्त नगर्न सो पार्टीले जनमत पार्टीलाई सचेत गराएको छ । यस्ता अपराधिक एवं गैर राजनीतिक, अराजक, गैर–कानुनी, असमाजिक तथा अमार्यदित क्रियाकलापलाई नियन्त्रण गर्न नेपाल सरकारसँग जारी विज्ञप्तिमा आग्रह समेत गरिएको छ ।