मधेश न्यूज सम्वाददाता,
राजविराज, ०२ भाद्र ।
पूर्व नेकपा(एमाले) आबद्ध युवा–विद्यार्थीको संयुक्त आयोजनामा बुधवार सप्तरीमा मशाल जुलुस प्रदर्शन भएको छ ।
सप्तरीको सदरमुकाम राजविराजमा अनेरास्वयू एवं यूवा संघ द्वारा सर्वोच्च अदालतको परमादेशबाट बनेको शेर बहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल सम्बन्धि अध्यादेशको विरुद्धमा मशाल जुलुस प्रदर्शन गरिएको हो ।
“दल सम्बन्धि अध्यादेश फिर्ता गर,राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद,अनेरास्ववियु जिन्दावाद ,नेपाल खेलकुद महासंघ जिन्दावाद,नेकपा एमाले –जिन्दावाद,शेरे चोर देश छोड”जस्ता नारा लगाउदै हनुमान मन्दिरबाट निकालिएको राँके जुलुस दशन चौकमा गएर कोणसभामा परिणत भएको थियो ।
वक्ताहरुले दल सम्बन्धि अध्यादेश फिर्ता नलिए परमादेशी सरकारलाई घुँडा टेकाउने दाबी गरेका छन ।नेकपा (एमाले) जिल्ला कमिटी सदस्य दुर्गानन्द ठाकुर,अखिलेश झा र अनेरास्ववियु अध्यक्ष ललित रजक तथा युवा संघका जिल्ला संयोजक चितरंजन यादवले सभालाई सम्बोधन गरेका थिए भने युवा संघका केन्द्रिय सदस्य रंजन झाले संचालन तथा उद्घोष गरेका थिए ।
राष्ट्रिय युवा संघ नेपालको जिल्ला संयोजक चितरंजन यादव र अनेरास्ववियु जिल्ला अध्यक्ष ललित रजकको संयुक्त नेतृत्वमा आयोजना गरिएको सो जुलुस कार्यक्रममा जिल्लाका विभिन्न गाउँ–गाउँ बाट कार्यकर्ताहरु सदरमुकाम बोलाएको थियो ।