लिलाकान्त यादव,
राजविराज, १० असार ।
सप्तरीमा क्रियाशीले विभिन्न संस्थाको समन्वयमा राजविराजमा बिहिवार मास्क बैंक स्थापना गरिएको छ ।
निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहलपहल हुन थालेपछि कोरोना जोखिमको सम्भावना बढेकोले चेतना र आर्थिक अभावमा मास्क नलगाएर हिडडुल गर्ने सर्वसाधारणलाई वितरण गर्न यूकेएडको सहयोगमा इन्सेक, समग्र जनउत्थान केन्द्र, सहज परियोजना, भिएसओ, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, ग्रिन नेपाल, नेपाल प्रहरी, कल्याण पोस्ट दैनिक, कोरोना सहजिकरण सञ्जाल सप्तरीले मास्क बैंकको स्थापना गरेको हो ।
“हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं” नारा सहित स्थापना भएको मास्क बैंकको उद्घाटन सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले गर्नुभयो । प्रजिअ पोखरेलले कोरोना महामारीको अवस्था कायमै रहेकोले निःशुल्क मास्क बैंकको स्थापनाले कोरोना न्यूनीकरणमा थप सहयोग पुग्ने बताउनु भयो । जिल्लाको हरेक स्थानीय तहमा मास्क बैंक बिस्तार गर्न सके थप प्रभावकारी हुने उहाँले बताउनु भयो ।
कार्यक्रमको उद्देश्यको बिषयमा सहज परियोजना सप्तरीका सुषमा गुप्ताले जानकारी दिईन्।
महिला मानव अधिकार रंक्षक संजाल सप्तरीको अध्यक्ष तथा मानव अधिकारका लागि महिला एकल महिला प्रदेश नं २ को अध्यक्ष अनिता देवकोटाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा महिला मानव अधिकार रंक्षक संजाल सप्तरीका उपाध्यक्ष एवं पत्रकार सुधा देवले स्वागत मन्तव्य ब्यक्त गरेकी थिईन्।
मास्क बैंक कार्यक्रम राजविराज नगरपालिका सहित विभिन्न स्थानीय तहमा पालैपालो संचालन गरिने आयोजक संस्थाका अधिवक्ता ध्रुव मण्डलले बताए ।
मास्क बैंकको उद्घाटन कार्यक्रम पहिलो दिन नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भंसाली,अधिवक्ता मनु खनाल, पत्रकारद्वय पुनम पोखरेल,पार्वती सिंह थारू ,जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरू,सामुदायिक प्रहरीका साधना कर्ण,ललिता कर्ण ,ग्रीन नेपालका खेलानन्द दास, सप्तरी युथका विष्णु यादव लगायतको उपस्थिति रहेको थियोे ।