ईमधेश न्युज सम्वाददाता,
राजविराज ०१ बैशाख ।
अक्सिजनको अभावलाई न्यूनिकरण गर्न सप्तरीमै अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल नजिकै रहेको निजी अस्पताल छिन्नमस्तामा अक्सिजन प्लान्ट स्थापना हुने भएको हो ।
जिल्ला संकट व्यवस्थापन केन्द्रले राहत तथा विपद् व्यवस्थापन कोषबाट पछि सोध भर्ना हुने गरी ३० लाख रुपैयाँ उपलब्ध गराउने भएपछि अस्पतालले प्लान्टको स्थापना गर्ने भएको हो ।
हाल सप्तरीमा कोरोना संक्रमितको सख्या सात सय नाघेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । निमित्त प्रमुख दुनियालाल यादवका अनुसार सप्तरीमा कोभिड–१९ को दोस्रो लहरमा २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले मृत्यु हुनेको सख्या ६३ पुगेको छ। बिरामीहरुले पर्याप्त अक्सिजन नपाउँदा उपचारमा समस्या भएको अस्पतालले जनाएको छ ।
बिरामीहरुको उपचारमा जिल्लामै अग्रणी भूमिका निर्वाह गर्दै आएको अस्पतालले संक्रमितको उपचारका लागि २० एचडियूसहित ५० शय्याको आइसोलेशन कक्षसमेत सञ्चालनमा ल्याएको छ ।
अक्सिजनको अभावका कारण संक्रमितको उपचारका लागि थप शय्या विस्तार हुन नसेकेको जिल्लामा अक्सिजन प्लाण्ट स्थापनापछि थप शय्या विस्तार गर्न सहज हुने विश्वास गरिएको छ ।
हाल अक्सिजनको अभावलाई न्यूनीकरण गर्न ५० किलोमिटर दूरीमा रहेको सुनसरीको इटहरीबाट अक्सिजन ल्याएर बिरामीको उपचार भइरहेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजित कुमार झाले बताए ।
दैनिक ५० वटा सिलिन्डर भर्न इटहरी पठाउनु परेको जानकारी दिँदै निमित्त मेसु डा. झाले विषम परिस्थितिमा यथाशिघ्र अक्सिजन प्लान्ट आवश्यक रहेको बताए ।
अक्सिजन प्लान्ट स्थापना भए शय्या विस्तार गर्न सकिने र संक्रमितको उपचारमा सहज हुने जानकारी दिँदै उनले अस्पताल र स्वास्थ्यकर्मीलाई हौसला र सहयोगका गर्न आग्रह गरे ।
जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला समन्वय समितिको बैठकको विगतको निर्णय अनुसार क्वारेन्टाइन र आइसोलेसन केन्द्र तयार नगरेका स्थानीय तहलाई अबिलम्ब तयार गर्न तथा नेपाल सरकारबाट घोषित ५, १० र १५ बेडको अस्पतालको अवस्थाको विषयमा जिल्ला संकट व्यवस्थापन केन्द्रलाई जानकारी गराउने निर्णय भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा बसेका बैठकमा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, विभिन्न स्थानीय तहका प्रमुख र अध्यक्ष, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. झा, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादव, सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।