लिलाकान्त यादव,,
काठमांडौं, ११ असोज ।
उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसंग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत डा. थोमस प्रिन्जले लैनचौरस्थित शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा शुभकामना आदान प्रदान पश्चात द्विपक्षीय सम्बन्ध, विकास सहयोग, लगानी तथा व्यापार, पर्यटन लगायतका विषयमा महत्वपूर्ण छलफल भयो । ‘सन् १९५८ मा दौत्य सम्बन्ध स्थापना भए पश्चात नेपाल र संघीय गणतन्त्र जर्मनीबीच कायम रही आएको मैत्रीपूर्ण सम्बन्ध प्रति खुशी व्यक्त गर्दछु ’ उहाँले भन्नुभयो, ‘मित्रता, सौहार्दता र सहयोगमा आधारित संघीय गणतन्त्र जर्मनीसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको छ । आगामी वर्षहरूमा यी सम्बन्धहरू अझ सुदृढ हुँदै जानेमा म विश्वस्त छु ।’
उपराष्ट्रपति यादवले उच्च राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–जर्मनी सम्बन्धका आधार स्तम्भ भएको बताउनु भयो । ‘संघीय गणतन्त्र जर्मनी नेपालको प्रमुख विकास साझेदार हो’ उहाँले भन्नुभयो, ‘नेपालले सामाजिक आर्थिक विकासका सबालमा सन् १९६१ देखि सहायता प्राप्त गर्दै आएको छ ।’ उहाँले दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकांक्षा हासिल गर्न नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालको विकास पथमा मित्रराष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा आशावादी रहेको बताउनु भयो ।
‘जर्मनीले बहुपक्षीय मञ्चहरुमा अन्तर्राष्ट्रिय मुद्दा जस्तै जलवायु परिवर्तनको क्षेत्रमा निर्वाह गरेको महत्वपूर्ण भूमिकाको नेपाल प्रशंसा गर्दछ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘आपसी हितका विषयहरुमा दुईपक्षीय र बहुपक्षीय मञ्चहरुमा हाम्रो सहकार्य निरन्तर कायम रहनेमा हामी आशावादी छौं ।’ उहाँले सन् २०२६ सम्म नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने र २०३० सम्म मध्यम आय भएको मुलुक हुने लक्ष्य राखेकोमा यसमा जर्मनी लगायत विकास साझेदारहरूबाट ठूलो मात्रामा पूँजी, प्रविधि, लगानी र आर्थिक साझेदारी आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘संघीय गणतन्त्र जर्मनीको एकता दिवसको अवसरमा म जर्मन सरकार र जनतालाई हार्दिक बधाई व्यक्त गर्दछु ।’
नेपालका लागि संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत डा. थोमस प्रिन्जले नेपाललाई जर्मनीको सहयोग जारी रहने बताउनु भयो । उहाँले जर्मन सरकारले नेपालको विद्यत, बालबालिका र कृषि क्षेत्रका लागि हालै ५१ मिलियन युरो सहयोग गरेको समेत बताउनु भयो ।