लिलाकान्त यादव, राजविराज, ०८ असोज ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले तराई–मधेशका आमाहरुले निर्जला÷निराहार २४ घण्टासम्म उपवास बसी सन्तानको सुख, शान्ति, दीर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि परापूर्वकालदेखि मनाउँदै आएको जितिया पर्व, २०८१ को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उपराष्ट्रपतिको निजी सचिवालयबाट प्रेषित शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, ’हामीले मनाउने पर्वहरु यस्तो उत्सव हुन, जसले वर्षौदेखि प्रचलनमा रहेका हाम्रा मूल्य–मान्यताहरुलाई वर्तमानसम्म दृढताका साथ एउटा कडीका रुपमा जोडेर राख्न सहयोग गरेको छ । पर्व–त्योहारहरुले हाम्रो अन्तःचेतनालाई जगाउँदै हाम्रो आत्मविश्वास पनि बढाउँदछ। यसले हाम्रो आध्यात्मिक मूल्यहरुलाई बल प्रदान गर्दै हाम्रा पारिवारिक सम्बन्धहरुको रागात्मकतालाई थप सुदृद्ध र बलियो बनाउनुका साथै सामाजिक संरचनालाई थप प्रगाढ बनाउनमा सघाउँदछ । ’
उपराष्ट्रपति यादवले पौराणिक आख्यानहरुका आधारमा तिथि विशेषमा मनाइने प्रत्येक व्रत–त्योहारहरु आफ्नो मान्यताहरुमा अनौठा र मौलिक रहेको बताउनु भएको छ । ’ लोकपर्वका रुपमा मनाइने पर्व–त्योहार र त्यस अवसरमा राखिने व्रत÷उपवास, सनातन धर्मको त्यो प्राण–तत्वहरु हुन् जुन ऋतु अनुसार सम्यक् संयम–नियमको विशिष्ट विधानबाट शारीरिक र मानसिक आरोग्यको अद्भूत समायोजनमा सघाउँदछ । यस्तै लोकपर्वमध्ये जितिया पर्व पनि एक हो । यो शास्त्रीय र लोकमान्यताहरुको अद्भूत समन्वयकारी पर्व पनि हो ’ संदेशमा उल्लेख छ, ’ हाम्रा आस्था र निष्ठाहरु परम्परागत रुपमा अविरल प्रवाहित हुने गर्दछन् । जितिया कठिन व्रतको संयम त हुँदै हो, यो केही प्रचलित र लोकमान्यताहरुलाई जीवन्त बनाउने माध्यम पनि हो । यसो त जितिया पर्वलाई सन्तानको दीर्घायू र सुस्वास्थ्यका लागि गरिने पर्व भनिए पनि यो तीन दिनसम्म गरिने फरक–फरक लोक–अनुष्ठान र लोकमान्यताहरुको मौलिक परम्परा र प्रथा हो ।यसमा प्रकृति,धर्म र संस्कृतिको अनौठो समायोजन भएको पाइन्छ । ’
उहाँले सांस्कृतिक र धार्मिक महत्व बोकेको जितिया पर्व तराई–मधेशका भूईंमान्छे, मूल आदिवासी, रैथाने जातजातिकाहरुले आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परागत पर्व भएको बताउनु भएको छ । ’प्राचीन कविला समुदायमा मातृत्वको बर्चस्प परापूर्वकालदेखि नै रहेको सन्देश पनि यो पर्वले दिन्छ । यसले धर्म र संस्कृतिको संरक्षण, प्रवद्र्धन र विस्तारमा महिलाहरुको योगदान दशकौं देखी रहेको पुष्टि गर्दछ ’ संदेशमा उल्लेख छ, ’ यो पर्व नितान्त मातृस्नेह र मातृवात्सल्यको एउटा अद्भूत उदाहरण हो । यो पर्वले महिलाको सांस्कृतिक भूमिका र महत्वलाई उजागर पनि गर्दछ। ’
’विविधतामा एकताको सन्देश संचार गर्ने हाम्रा चाडपर्वहरु भूगोल, क्षेत्र र समुदाय अनुसार मनाउने चलन, परम्परा, विधि–विधान र अनुष्ठान फरक–फरक भएपनि सबैको सारतत्व एवम् उद्देश्य समाज र देशमा सामाजिक एवं धार्मिक सहिष्णुता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, भाइचारा, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्नु नै हो ’ संदेशमा छ,’विभिन्न तिथिहरुमा गरिने पूजापाठ र अनुष्ठानहरु हामीबीच सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वाणी र कर्ममा पवित्रता एवम् शुद्धताको संचार गर्ने भावनाहरुले अभिप्रेरित छन्। व्यक्तिमा असल संस्कार, व्यवहार र सामाजिकताको पृष्ठपोषण गर्न जितिया पर्वले सघाउ पुग्ने विश्वासका साथ पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु । ’