लिलाकान्त यादव,
राजविराज, ३० भाद्र ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदहमा विंगरले ठक्कर दिँदा एक जनको मृत्यु भएको छ भने एक जना घाइते छन् ।
सदरमुकाम राजविराजबाट विराटनगरतर्फ तीव्र गतिमा जाँदै गरेको प्रदेश १–००२–००१ ज ३८६६ नम्बरको माइक्रोले पैदल हिँडिरहेका उनीहरूलाई ठक्कर दिएको हो । उक्त दुर्घटनामा नातीको मृत्यु भएको हो भने हजुरआमा घाइते भएकी हुन् ।
घाइते बनेकी भारदह निवासी ४५ वर्षीया अनितादेवी अधिकारी हुन् भने उनका १५ महिने नाति आदर्श गम्भीर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका आदर्शको उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिए पछि मृत्यु भएको थियो ।
ठक्कर दिने चालक र विंगर प्रहरीको नियन्त्रणमा लिएका छन् । तीव्र गति र चालकको लापरबाहीले दुर्घटना भएको भन्दै स्थानीयले बिहान ८ बजेदेखि सडकमा टायर बालेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन ।