लिलाकान्त यादव,
राजविराज, २० भाद्र ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दिउँसो ज्वरोबाट पीडित एकजना बिरामीको मृत्युपछि अस्पताल तनावग्रस्त बनेको थियो ।
विहिवार अस्पतालको आकस्मिक कक्ष भित्र उपचारका क्रममा विष्णुपुर गाउँपालिका–४ कनकट्टाका २० वर्षीय मो मनिरको मृत्यु भएपछि बिरामीका आफन्तजनले अस्पताल परिसरमा प्रदर्शन गरिएका हुन्।
आउँदो मंगलबार रोजगारका लागि साउदी अरब जाने तयारीमा रहेका मनिरलाई पाँच दिन अघि ज्वरो आएपछि तत्काल स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गराएका थिए । त्यहाँको उपचारले निको नभएपछि परिवारले उनलाई राजविराजस्थित डा. मुरली प्रसाद सिंहको निजी क्लिनिकमा उपचार गराइरहेका थिए ।
बिहीबार दिउँसो डा सिंहको क्लिनिकमा मनिरको अवस्थामा सुधार नभई अझ बिग्रँदै गएपछि उनलाई गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । आकस्मिक कक्षमा ल्याइएको केही बेरमै उनको मृत्यु भएपछि आफन्तले डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल परिसरमै नाराबाजी र प्रदर्शन गरिरहेका थिए ।
बिरामीका आफन्तजनको नाराबाजीका कारण अस्पताल परिसर नै तनावग्रस्त बनेको थियो । भिड अनियन्त्रित भएपछि अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिए पश्चात् स्थिति समान्य बनेको थियो।